ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले लम्पी स्किन रोग विरुद्धको खोप खरिदको प्रस्ताव गरेकी छन् । लम्पी स्किनलाई महामारी घोषणा गरेर विपद्कोषबाट तत्काल किसानलाई राहत दिनुपर्ने भन्दै उपाध्यक्ष थापाले जिल्लाबाट निर्वाचित सांसदहरुको समेत ध्यानाकर्षण गराउँदै भ्याक्सिन खरिद गरेर लम्पी स्किनबाट हुने थप क्षति रोक्न प्रस्ताव गरेकी हुन् ।
पशुचौपायमा महामारीको रुपलिएर फैलिएको लम्पी स्किनका कारण गोरु बिरामी हुँदा खेतबारी बाँझो बसेको र पशुपालक किसानका गोठ रित्तै हुने अवस्था आएकाले सबैको साझा प्रयत्न भए किसानलाई आहतमा राहत मिल्ने उपाध्यक्ष थापाको भनाई छ । स्थानीय जनप्रतिनिधिको सेवा सुविधा र सांसद विकास कोष मार्फत जिल्लामा आउने बजेटबाट खोप खरिद गरेर सिंगो जिल्लाबासी किसानको समस्या समाधान गर्न थापाले सामाजिक सञ्जाल मार्फत सार्वजनिक रुपमै आवहन गरेकी छन् । उनले भनेकी छन् ‘हामीसँग स्रोत छैन राजश्व धेरै जुट्ने अवस्था छैन तर हामी जनताको सेवक हौ हामी जनप्रतिनिधिले २-३ महिनाको सेवासुविधा बापत प्राप्त हुने रकम त्यागेर भ्याक्सिन खरिद कोष बनाऔं । सहयोगका लागि दातासँग पनि हारगुहार गरौं । साचिकै हाम्रो जीवन हामिले पालेको गाई भैंसी गोरुले धानेको छ आज थुप्रै जमिन बाझो छ, थुप्रै गाउँ बाट पलायन भएको अवस्था छ यो दर्दानाक अवस्थामा सबै जुटौं । हृदय सफा,विशाल निमार्ण गरौ ! मन भतभती पोलेको छ, ए साँच्चै सांसद विकास कोष पनि छ नि है ? त्यो यो वर्षको जिल्ला भरी भ्याक्सिन खरिद गर्दिए कस्तो पुण्य हुनेथियो ।’
गोरु बिरामीहुँदा रोपाइँ प्रभावित भएको विषय उठेपछि लिखु गाउँपालिकाले हाते ट्याक्टर खरिद गरेर वितरण गर्ने निर्णय गरेको थियो । अहिले धमाधम ट्याक्टर वितरण भईरहेको छ ।
गोरुलाई लम्पी स्किन रोग लागेकै कारण यसवर्ष जिल्लामा रोपाइँ समेत प्रभावित भएको छ ।
जिल्लामा लम्पी स्किन रोगका कारण सयौं पशुचौपाय मरिसकेका छन् ।
प्रतिक्रिया