ओखलढुंगामा ६ महिनामै चार हजार आँखा रोगीको उपचार

ओखलढुंगामा ६ महिनामै चार हजार आँखा रोगीको उपचार



जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगाले सामाजिक परिक्षण गरेको छ । केन्द्रले जिल्लामा विगत ६ महिनामा प्रवाह गरेको सेवा, केन्द्र अन्तर्गत अस्पताल तथा पालिकाहरुमा रहेका केन्द्रबाट प्रवाह भएको सेवाको विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको विवरण अनुसार गत छ महिनायता जिल्लामा चार हजार सात सय २५ जनाले आँखाको जाँच तथा उपचार गराएका छन् । जिल्ला सामुदायिक आँखा केन्द्रबाट दुई हजार ९२२, ओखलढुंगा सामुदायिक अस्पतालमा रहेको केन्द्रबाट ६६९, खिजीदेम्बाको ग्रामिण आँखा केन्द्र ५१२, मोतिराज ग्रामिण आँखा केन्द्र मानेभञ्ज्याङबाट ३४१ र लिखु ग्रामिण आँखा केन्द्रबाट २८१ गरि ६ महिनामा चार हजार सात सय २५ जनाले आखाँ उपचार सेवा लिएको केन्द्र इन्चार्ज टिका राईले बताइन् ।

यहि अवधिमा जिल्लाको विभिन्न ठाउँमा सञ्चालन भएका निःशुल्क आँखा शिविरबाट दुई हजार आठ सय ६७ जनाले सेवा लिएका छन् । जसमध्ये ९७ जनाको मोतिबिन्दु र आँखा मासु पलाएको ७ जना गरि १०४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । यस्तै केन्द्रले विगत छ महिनामा ३८ लाख ५६ हजार एक सय ७५ रुपैयाँ आम्दानी गर्दा ३३ लाख एक हजार दुई सय ८२ खर्च भएको जनाएको छ ।

सन् २००७ सालमा स्थापना भएको केन्द्रमा सेवा लिनेको सङ्ख्या बर्षेनी वृद्धि हुने गरेको केन्द्र प्रमुख राईको भनाई छ । एक महिनामा छ सय सयको हाराहारीमा सेवाग्राही आउने गरेको उनले बताइन् ।

सामाजिक परिक्षण कार्यक्रममा सहभागीहरुले केन्द्रको सेवा प्रभावकारी भएको भन्दै सेवालाई सबै स्थानीय तहसम्म पुर्यानुपर्ने बताएका छन् ।

विद्यार्थीहरुको आँखा जाँच तथा उपचार कार्यक्रमलाई जिल्लाका सबै स्थानीय तहले अवलम्बन गर्नुपर्ने उनीहरुको सुझाव थियो ।

सरोकारवालाहरुसँग सेवा प्रवाहको विषयमा छलफल गर्नुको साथै आगामी योजनाको बिषयमा सुझाव समेत लिएको केन्द्र प्रमुख राईले जानकारी दिएकी छन् ।