ककनी सौर्य मिनिग्रिड उद्घाटन : १९१ घरमा वत्ती बल्यो

ककनी सौर्य मिनिग्रिड उद्घाटन : १९१ घरमा वत्ती बल्यो



ओखलढुंगाको ककनीमा स्थापना गरिएको सौर्य मिनिग्रिडको उद्घाटन गरिएको छ । मिनिग्रिडको शनिबार उर्जा जलस्रोत तथा सिंचाइँ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले उद्घाटन गरेका हुन्।

ककनी सौर्य मिनिग्रिडको उद्घाटन गर्दै सचिव घिमिरेले उर्जा मन्त्रालय, बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा देशका विकट क्षेत्रलाई पनि उज्यालो बनाउने अभियानमा सरकार जुटेको बताए । ककनी महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय क्षेत्र भएको तर विद्युतिकरणको समस्या रहेको कुरालाई मध्यनजर गरि सौर्य मिनिग्रिड आयोजना सञ्चालन गरिएको उनले बताए ।

बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक डा. लक्ष्मण प्रसाद घिमिरेले परियोजनाको विस्तृत विवरण प्रस्तुत गरेको थिए । उनले त्यस क्षेत्रका नागरिकलाई उर्जाको उच्चतम् खपत गरेर आर्थिकस्तर वृद्धि गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल र केन्द्रका सह–सचिव दिपक लामिछानेले पनि आँकलन गरे भन्दा निकै कम उर्जा खपत भएको पाइएकोले उच्चतम् उर्जा खपत गरेर आयआर्जनको स्रोत वृद्धि गर्न सुझाव दिए ।

ककनीमा विद्युतिकरण गरेर एउटा महत्वपूर्ण अभिभारा पुरा गरिएको वडा अध्यक्ष हितराज कार्कीले बताए । मिडिग्रिड आयोजना सञ्चालनको लागि सहयोग गर्ने मन्त्रालय, केन्द्र र पहल गर्ने पुर्व जनप्रतिनिधिलगायतलाई वडा अध्यक्ष कार्कीले धन्यवाद दिएका छन् ।

उज्यालो सनकोशी अभियान थालेको स्थानीय सरकारले अघिल्लो कार्यकालमा रुद्र अधिकारीको नेतृत्वमा सुनकोशीमा विद्युतिकरणको काम थालेको थियो ।

भौगोलिक विकटताका कारण केन्द्रीय विधुत विस्तार गर्न खर्चिलो हुने र तत्काल विद्युतिकरणको सम्भावना नहुने भएपछि सुनकोशी ९ का तत्कालिन वडाअध्यक्ष एवम् उर्जा विकास उपसमितिका संयोजक समेत रहेका झनककुमार कार्कीले उत्तम विकल्पको रुपमा ककनीमा सौर्य मिनिग्रिड स्थापनाको योजना बनाएर पहल थालेका थिए । कार्कीकै कार्यकालमा योजना सम्झौता गरि ठेक्का लगाएर काम सुरु गरिएको थियो ।

सुनकोशीमा अघिल्लो कार्यकालका जनप्रतिनिधिले थालेको विधुत विस्तारको काम नयाँ जनप्रतिनिधिले पुरा गर्दैछन् ।

ककनीमा ६ करोड ४२ लाख ८८ हजार ९ सय ३३ को लागतमा सौर्य मिनिग्रिड स्थापना गरिएको हो।

बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत लागत गरि कुल ६ करोड ४२ लाख लाख ८८ हजार ९ सय ३३ को लागतमा सौर्य मिनिग्रिड स्थापना गरिएको हो ।

मिनिग्रिडबाट ककनीका १९१ घरधुरी लाभान्वित भएका छन् । ककनीका विधालय र स्वास्थ्य संस्थामा समेत विधुत जडान गरिएको छ ।

मिनिग्रिड आयोजना २०७९ मङ्सिरबाट सुरु भएको थियो ।

आयोजनामा सुनकोशी गाउँपालिकाले ६० लाख र हाउस वायरिङको लागि सुनकोशी गाउँपलिका वडा नम्बर ९ ले दुई लाख रकम विनियोजन गरेको थियो ।

सौर्य मिनिग्रीटको सुबिधा नपुगेको १७ घरलाई भने ५० वाटको सोलार वितरण गरिएको छ ।

प्राकृतिक हिसाबले सुन्दर र पर्यटकीय प्रचुर सम्भावना भएपनि भौगोलिक हिसाबले जिल्लाकै विकट मानिने ककनीमा विधुत विस्तार भएपछि स्थानीय हर्षित भएका छन् ।

विधुत सुविधासँगै अन्य थुप्रै सम्भावनाका स्रोतहरु आएको ककनीका नरबहादुर सुनुवारले बताए । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै सुनुवारले ककनीको समग्र विकासका लागि पहल गर्ने पूर्व र वर्तमान जनप्रतिनिधिलाई धन्यवाद दिए ।

केहि वर्षअघिसम्म विकास बजेट नै नपुग्ने दुर्गम गाउँ ककनी सडक, विधुत, खानेपानी, स्वास्थ्य इकाईसहितका सेवा पुगेपछि छोटो समयमै सुगम बनेको छ ।