ओखलढुंगाका सदरमुकामका मेडिकलमा म्याद गुज्रेका औषधि फेला परेको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सोमबार गरेको अनुगमनका क्रममा फार्मेसीहरुले म्याद गुज्रेका औषधि बिक्री गरेको पाइएको हो ।
मेडिकल र औषधि पसलहरू मापदण्ड विपरीत चलेको गुनासो आएपछि प्रशासनको संयोजकत्वमा जिल्ला स्वास्थ्य कार्यालय र करदाता सेवा कार्यालय सहितको संयुक्त टोलीले अनुगमन गरेको हो ।
अनुगमन टोलीले जिल्ला सदरमुकामका ६ वटा औषधि पसल तथा मेडिकलहरुको अनुगमन गर्दा एक फार्मेसीबाट एक हजार छ सय बराबरको म्याद गुज्रेको औषधि जफत गरि नष्ट गरेको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत मेघराज शंकरले बताए ।
उनका अनुगमनका क्रममा केही डेन्टल तथा फार्मेसीहरु मापदण्ड विपरीत सञ्चालन भएको, दर्ता प्रमाणपत्र नवीकरण नभएको पाइएकोले पहिलोपटकलाई सचेत गराइएको छ । सदरमुकाम भित्र र बाहिरका मेडिकलको अनुमगनलाई निरन्तरता दिने प्रशासनले जनाएको छ ।
प्रतिक्रिया