ओखलढुंगाको जिबिस खोरिया टोलमा पहिरोले तीन घर भत्किदा एक करोड बढीको क्षति भएको छ
सोमबार देखि परेको अविरल बर्षाका कारण जिल्लाको सिद्धिचरण नगरपालिका–१२ को जिसस नजिक खोरिया टोलमा मंगलबार बिहान गएको पहिरोले तीन घर र एउटा कुखुरा फार्ममा क्षति हुनुको साथै दुई जना घाइते समेत भएका छन् ।
घर भन्दा पाँच सय मिटर माथिबाट खसेको पहिरोले स्थानीय सोम बहादुर खत्रीको तीन तला आधाको पक्की घरमा क्षति पुगेको छ । पहिरोले घरको बिच तलाको पछाडि भाग भत्किँदा ५० लाख बराबरको क्षति भएको छ ।
सोही घरमा कोठा भाडामा बस्ने भारतको दार्जिलिङ घर भएका ३२ बर्षीय नितेश राईको खुट्टामा चोट लागि घाइते भएका छन् ।
यस्तै पहिरोले स्थानीय पेशल खत्रीको तीन तले पक्की घरको पछाडीको भागमा क्षति पुग्दा ५० लाख बराबरको क्षति भएको छ । सोही घरमा भाडामा बस्ने जिल्लाको मोलुङ गाउँपालिका ५ निवासी २९ बर्षीय नविना धमलाको बाँया खुट्टामा सामान्य चोट लागि घाइते भएकी छन् ।
सुनकोशी गाउँपालिका घर भई सोही ठाउँमा कुखुरा फार्म गरि बस्ने ३० बर्षीय कोल बहादुर खत्रीले फार्ममा पालेका ७० भन्दा बढी कुखुरा मर्दा एक लाख पचास हजार बराबरको क्षति भएको छ ।
यस्तै स्थानीय ३२ बर्षीय सोम बहादुर कटवालको ढुङ्गा माटोले बनेको एक तले कच्चि घरको साईडबाट पहिरो झरी घर जोखिममा परेको छ ।
अहिले पहिरो पन्छाउने र उद्धारको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुगाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । प्रारम्भीक अनुमानमा पहिरोले एक करोड एक लाख पचास हजार बराबरको क्षति भएको उनको भनाई छ ।
घाइते दुई जनाको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया