कविता : पहिरे खोला !

कविता : पहिरे खोला !



पहिरे खोला

बर्षे बैशमा मातिएर,

तँ, तान्डब मच्चाउछस् –मच्चाउदैनस्

तँ उर्लिन्छस् –उर्लिदैनस् ?

तर, तेरो नाममा

राजनीति गर्ने,

निरन्तर तँलाई जपिरहने,

जताततै तेरो नाम फलाकिरहने

र, बेफ्वाँक तेरो नाम भजीरहने

खै,कता छन् ?

पहिरे !

सायद तँ त राजनीति बुझ्दैनस् होला

तर, तेरो नाममा राजनीति गर्नेले

राम्ररी बुझेकाछन् तँलाई,

घरी फिता लगाएर–तेरो आङ नाप्छन्,

घरी, नेता, कार्यकर्ता र कर्मचारी मिलेर

चट्ट आईफोनबाट तस्बिर खिच्छन्,

घरी “बजेट पारेको” फुँइ हाक्छन्,

र, टेन्डरको

गतिलो नाटक फ्याक्छन्

तर तँ यथास्थितिवादीहोस् –बुझ्दैनस् ।

तँ, आफ्नै धुनमा छस्

न तेरो स्वरूप बदलिएको छ

न तेरो मार्ग फेरिएको छ,

ढुक्क हो पहिरे !

गतिहीन नेता,

लाछि नागरिक भएको ठाउँमा

न तेरो स्वरुप फेरिन्छ

न हाम्रो सास्ती फेरिन्छ ।