ओखलढुंगाको मालपोतले एक करोड बढी राजस्व संकलन गय्राे


ओखलढुंगाको मालपोत कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा एक करोड ७४ लाख ६१ हजार १७ रुपैयाँ ८४ पैसा राजस्व संकलन गरेको छ । मालपोत कार्यालय ओखलढुंगाका अनुसार उक्त राजस्व २ हजार १७ थान रजिष्ट्रेशन पासबाट संकलन भएको हो ।

कार्यालय प्रमुख निर कुमार ढुंगानाका अनुसार रजिष्ट्रेशन दस्तुरबाट सबैभन्दा धेरै एक करोड ३२ लाख ६९ हजार ७०६ रुपैयाँ ८४ पैसा संकलन भएको छ । त्यस्तै पूँजिगत लाभकरबाट २७ लाख २६ हजार ४२० रुपैयाँ, मुद्दाबाट १४ लाख ४ हजार ८६१ रुपैयाँ, मोठ फाँटबाट ३९ हजार ६ सय रुपैयाँ र ठाडो रोक्का तथा डोर दस्तुरबाट २० हजार ४३० रुपैयाँ राजस्व संकलन भएको छ ।

कार्यालयका कानुनमा व्यवस्था भए अनुसार ३६९ महिलालाई १२ लाख ९१ हजार ८१ रुपैयाँ र ६६ जना दलितलाई एक लाख ८९ हजार ४० रुपैयाँ छुट दिइएको छ ।

मुद्दा तर्फ मात्रै नामसारी राजस्व दुई लाख ४८ हजार ६ सय रुपैयाँ, संशोधन राजस्व १४ हजार ८ सय रुपैयाँ, घरकायम राजस्व २२ हजार ५ सय रुपैयाँ तथा दा.खा राजस्व र लाभकरबाट ११ लाख २२ हजार ६६१ रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

हाल ओखलढुंगा जिल्लामा ओखलढुंगा र खिजीफलाटे गरी दुई वटा मालपोत कार्यालय रहेका छन्, भने यो विवरण मालपोत कार्यालय ओखलढुंगाको मात्रै हो ।