चार महिना बित्दा पनि गत भदौ १० गते रसुवामा आएको भोटेकोशी बाढीमा परेर बेपत्ता भएका ओखलढुंगाका २७ जनाको अवस्था अझै अज्ञात छ । बेपत्ताहरूको आधिकारिक विवरण यकिन गरी सरकारलाई पठाइएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीमा बेपत्ता भएका व्यक्तिहरूको विवरण यकिन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने निर्णय गरेको हो ।
बाढीमा परेर जिल्लाका सबैभन्दा बढी खिजीदेम्बा गाउँपालिकाका ११ जना बेपत्ता छन् । प्रशासनका अनुसार सिद्धिचरण नगरपालिकाका कुलबहादुर थापा मगर, लोकबहादुर मगर, पेम जाङ्मु शेर्पा, विशाल तामाङ र रामबहादुर गुरुङ बेपत्ता छन् । मानेभञ्ज्याङ गाउँपालिकाका दिनेश राई पनि बेपत्ताको सूचीमा छन् ।
यस्तै, चिशंखुगढी गाउँपालिकाका सुभद्रा न्यौपाने, खेमबहादुर राउत र मेचनकुमार आले, मोलुङ गाउँपालिकाका सुमन दाहाल, मोनी दाहाल, गेल्जे शेर्पा र बुद्ध तामाङ तथा लिखु गाउँपालिकाका खिलबहादुर बुढाथोकी, प्रेमबहादुर पौडेल र मिलन बिडारी बेपत्ता छन् ।
खिजीदेम्बा गाउँपालिकाबाट लाप्साङ निमा शेर्पा, मिनबहादुर भुजेल, छिरिङ शेर्पा भुजेल, युवराज भुजेल, गेली शेर्पा, लाक्पा शेर्पा, तेन्जिङ शेर्पा, छोटी शेर्पा, संगम श्रेष्ठ, सोनाम टसी शेर्पा र देवराज सुनुवार बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत रोशन श्रेष्ठले जानकारी दिए ।
जिल्लाका सुनकोशी र चम्पादेवी गाउँपालिकाबाट उक्त बाढीमा परी बेपत्ता भएको कुनै विवरण प्राप्त नभएको प्रशासनले जनाएको छ ।
जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराईको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको अध्यक्षतामा बसेको बैठकले बेपत्ता भएका २७ जनाको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पेश गर्ने निर्णय गरेको छ ।
बैठकले चालु आर्थिक वर्षमा अविरल वर्षाका कारण बाढीपहिरोबाट घर भत्किएका वा क्षति भएर बस्न जोखिमपूर्ण भई स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेका परिवारको विवरण संकलन गरी निजी आवास पुनर्निर्माण लाभग्राही कायम गर्न जिल्ला प्रशासन कार्यालयमा पठाउने निर्णयसमेत गरेको छ ।
यस्तै, हर्कपुरमा रहेको सशस्त्र प्रहरी बल नेपालको अस्थायी मनसुन प्रतिकार्य बेसलाई स्थायी बेसमा रूपान्तरण गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने तथा जाडो महिनामा आगलागीबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।








प्रतिक्रिया