ओखलढुंगामा पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ ।
ओखलढुंगा, खोटाङ र सोलुखुम्बु कार्यक्षेत्र बनाएर स्थापना गरिएको कार्यालयले तीन जिल्लामा ग्रामीण सडक, सडक पुल तथा स्थानीय पूर्वाधार विकाससम्बन्धी योजना कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छ ।
कार्यालयले स्थानीय तहका केन्द्र, वडा कार्यालय र ग्रामीण बस्ती जोड्ने सडक निर्माण तथा स्तरोन्नति, सडक पहुँच नपुगेका क्षेत्रमा नयाँ सडक विस्तार र सडक पुल निर्माणका काम गर्नेछ ।
त्यस्तै, स्थानीय तहबीच सडक सञ्जाल विस्तार गरी आवागमन सहज बनाउने तथा स्थानीय पूर्वाधार विकासका योजनालाई प्राथमिकताका साथ अघि बढाउने जिम्मेवारी कार्यालयको रहनेछ ।
बिहीबार जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराई, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले संयुक्त रूपमा कार्यालय उद्घाटन गरेका छन् ।
डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर शालिग्राम देवकोटाका अनुसार कार्यालयमा सि.डि.इ को नेतृत्वमा १२ जना स्थायी दरबन्दी र परामर्शदाता रहनेछन् । सडक पहुँच नपुगेका क्षेत्रलाई प्राथमिकतामा राख्दै ग्रामीण सडक निर्माण, स्तरोन्नति र पुल निर्माणका योजना अघि बढाइने उनले बताए ।
क्षेत्रीय तथा प्रादेशिक सन्तुलनका लागि आवश्यक, रणनीतिक प्रकृतिका तथा बाह्य प्रवाह उच्च हुने वैकल्पिक राजमार्ग, रणनीतिक कृषि सडक, पर्यटकीय मार्ग, स्थानीय तहको केन्द्र जोड्ने सडक, स्थानीय सडक पुल तथा झोलुङ्गे पुलहरुको निर्माण तथा स्तरोन्नति गर्ने डिभिजनको प्रमुख कार्यक्षेत्र रहने कार्यालय प्रमुख देवकोटाले बताए ।
डिभिजनले आफ्नो कार्यक्षेत्रमा पर्ने योजनाहरुको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), डिजाइन, लागत अनुमान, वातावरणीय अध्ययन तथा गुणस्तर परीक्षण जस्ता प्राविधिक कार्यहरु तथा निर्माण कार्यको व्यवस्थापन, ठेक्का प्रक्रिया, भुक्तानी, सुपरिवेक्षण, विवाद समाधान, उचित जनशक्ति तथा वित्तीय व्यवस्था पन जस्ता व्यवस्थापकीय तथा कार्यान्वयन तहका कार्यहरु गर्ने कार्यालयले जनाएको छ ।








प्रतिक्रिया