ओखलढुंगाका सबै पालिकामा ‘घरमै राहदानी’ सेवा विस्तार

भिजन समाचार
0
Shares

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सुरु गरेको ‘घरमै राहदानी’ सेवा अब जिल्लाका सबै आठवटै स्थानीय तहमा विस्तार गरिएको छ ।

यसअघि गत वैशाख १५ गतेदेखि लागू गरिएको उक्त सेवा सिद्धिचरण नगरपालिका भित्रमै सीमित रहेको भन्दै आलोचना हुँदै आएको थियो । दुर्गम गाउँपालिकाका नागरिकले सेवा नपाएको गुनासो बढिरहेका बेला प्रशासनले अब जिल्लाका सबै पालिकाका नागरिकलाई हुलाकमार्फत घरमै राहदानी उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत रोशन श्रेष्ठका अनुसार सोमबारदेखि जिल्लाका सिद्धिचरण नगरपालिका, चिशंखुगढी, मानेभञ्ज्याङ, मोलुङ, लिखु, खिजीदेम्बा, सुनकोशी र चम्पादेवी गाउँपालिकासहित सबै स्थानीय तहमा सेवा विस्तार गरिएको हो ।

नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची अन्तर्गत सञ्चालनमा ल्याइएको यस सेवामार्फत राहदानी बनाउन आएका नागरिकले तोकिएको हुलाक शुल्क बुझाएर आफ्नो राहदानी घरमै प्राप्त गर्न सक्नेछन् । यसले विशेषगरी दुर्गम क्षेत्रका नागरिक, ज्येष्ठ नागरिक, अशक्त तथा सदरमुकामसम्म पटक–पटक आउन कठिनाइ हुने सेवाग्राहीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

राहदानी लिनका लागि पुनः जिल्ला प्रशासन कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्दै जाँदा समय र खर्च दुवैको बचत हुने प्रशासनको विश्वास छ। सेवा विस्तारसँगै अब जिल्लाभरका नागरिकले सहज र प्रभावकारी रूपमा राहदानी सेवा प्राप्त गर्न सक्ने भएका छन् ।

प्रशासनले सेवाको प्रभावकारिता बढाउन जिल्ला हुलाक कार्यालयसँगको सहकार्यलाई थप व्यवस्थित बनाउँदै जाने जनाएको छ ।