पाटनमा चक्कु प्रहारबाट मारिएका दाजुभाइ आमा भेट्न लन्डन जाने तयारीमा थिए

भिजन समाचार
136
Shares

ललितपुर । पाटन दरबार स्क्वायरमा बुधबार साँझ भएको एक दर्दनाक घटनामा दाजुभाइ सुमित र सिर्जन नेम्वाङको ज्यान गएको छ । आमा भेट्न लन्डन जाने तयारीमा रहेका उनीहरूको जीवन एकाएक अन्त्य भयो ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार सामान्य फोन डायलको गल्तीबाट सुरु भएको विवादले भयावह रूप लिएको हो । सुमित र सिर्जनले आफूबाट गल्ती भएको भन्दै माफी माग्न र कुरा मिलाउन इमाडेलबाट पाटन पुगेका थिए । तर, परिस्थिति त्यसरी अघि बढेन ।

प्रहरीका अनुसार, उनीहरू अपरिचित व्यक्तिसँग संवाद गर्न खोजिरहेका बेला त्यहीँ नजिकैको मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले सिर्जनमाथि चक्कु प्रहार गरेका थिए । भाइमाथि आक्रमण भएपछि छुट्याउन गएका दाइ सुमितमाथि पनि आक्रमण भएको थियो ।

घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगे पनि दुवै जना गम्भीर घाइते अवस्थामा भेटिएका थिए । तत्काल बिएण्डबी अस्पताल लगिएको उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनामा संलग्न सञ्जीवलाई नजिकैको एक रेष्टुरेन्टबाट पक्राउ गरेको जनाएको छ । पक्राउ गर्ने क्रममा उनले एक महिला प्रहरीमाथि दुव्र्यवहारको प्रयाससमेत गरेका थिए ।

प्रारम्भिक अनुसन्धानअनुसार ३३ वर्षीय सुमित र २६ वर्षीय सिर्जन ललितपुरको इमाडोलमा बुबासँग बस्दै आएका थिए । उनीहरूकी आमा लन्डनमा बस्दै आएको र दाजुभाइ पनि उनलाई भेट्न जाने तयारीमा रहेको खुलेको छ ।