ओखलढुंगा । जिल्ला सदरमुकाममा सात जना महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने कटाई–सिलाई तालिम सम्पन्न भएको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुंगा र सिद्धिचरण नगरपालिका–१२ वडा कार्यालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको तालिममा सहभागी महिलाहरूलाई व्यवहारिक सीप प्रदान गरिएको हो ।
तालिमका बारेमा जानकारी दिँदै केन्द्रका सूचना अधिकारी भविन्द्र कुमार खत्रीले महिलाहरूलाई स्वरोजगार बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बताए । खत्रिका अनुसार तालिमले सहभागीहरूलाई आयआर्जनतर्फ उन्मुख बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
समापन कार्यक्रममा केन्द्र प्रमुख जितेन्द्र राईले सिकेको सीपलाई व्यवहारमा लागू गर्दै व्यवसायिक बन्न सहभागीहरूलाई आग्रह गरे । साथै, आधारभूत तालिम पूरा गरेका सबैलाई आगामी आर्थिक वर्षमा थप स्तरोन्नति (अपग्रेडिङ) तालिम प्रदान गरिने जानकारी दिए ।
कार्यक्रममा वडा अध्यक्ष उमङ्ग श्रेष्ठले पनि सहभागी महिलाहरूलाई आत्मनिर्भर व्यवसायी बन्न प्रोत्साहन गर्दै वडा कार्यालयबाट आगामी दिनमा आवश्यक तालिम तथा प्रविधि सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । तीन महिनासम्म सञ्चालन भएको तालिममा सुरुवातमा १० जना सहभागी भए पनि अन्तिमसम्म सात जनाले निरन्तरता दिँदै प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया