क्षयरोग नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यले ओखलढुंगाका सबै स्थानीय तहमा जिल्ला–व्यापी परीक्षण तथा खोजी अभियान सञ्चालन गरिएको छ ।
स्वास्थ्य कार्यालय रुम्जाटारका अनुसार क्षयरोग रोकथामका लागि समयमै रोगीको पहिचान, उपचार र आवश्यक सावधानी अपनाउनु सबैभन्दा प्रभावकारी उपाय भएकाले अभियान सञ्चालन गरिएको हो ।
अभियानअन्तर्गत जिल्लाको चिशंखुगढी गाउँपालिका, सिद्धिचरण नगरपालिका लगायतका स्थानीय तहमा परीक्षण कार्यक्रम सुरु भइसकेको स्वास्थ्य कार्यालयका आइटी फोकल पर्सन रोकेश पट्टेलले जानकारी दिए । उनका अनुसार चैत ३ गतेदेखि सुरु भएको कार्यक्रम चैत १३ गतेसम्म सञ्चालन हुनेछ ।
स्वास्थ्य सेवाको पहुँच कम भएका तथा क्षयरोगको उच्च जोखिममा रहेका समुदायलाई लक्षित गरी शिविर सञ्चालन गरिएको कार्यालयले जनाएको छ । शिविरमार्फत प्रारम्भिक चरणमै रोग पहिचान गरी उपचारमा सहजता ल्याउने र संक्रमण फैलावट नियन्त्रण गर्ने लक्ष्य राखिएको छ ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा र स्वास्थ्य कार्यालय ओखलढुंगाको समन्वयमा जिल्लाका सबै पालिकामा अभियान सञ्चालन गरिने बताइएको छ ।

प्रतिक्रिया