ओखलढुंगा सदरमुकामस्थित लालीगुराँस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले महिला तथा बालिकामाथि हुने हिंसाविरुद्ध जनचेतना फैलाउन सडक नाटक प्रदर्शन गरेका छन् ।
११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विद्यालयका कक्षा ४ र ५ मा अध्ययनरत विद्यार्थीले सदरमुकामका विभिन्न स्थानमा जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेका हुन् ।
विद्यालयको आयोजनामा जिल्ला सदरमुकामको गणेशटोल, रामबजार र रमाइलोडाँडा क्षेत्रमा प्रस्तुत गरिएको नाटकमार्फत समाजमा देखिने विभिन्न प्रकारका लैंगिक हिंसाका घटनालाई कलात्मक ढंगले चित्रण गरिएको थियो । नाटकमा छोरा–छोरीबीच गरिने विभेद, घरेलु हिंसा, एसिड प्रहार, मानव बेचबिखन तथा जबरजस्ती करणी जस्ता घटनालाई समेट्दै त्यसले समाजमा पार्ने नकारात्मक प्रभाव देखाइएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले लैंगिक विभेद र हिंसाजस्ता सामाजिक विकृतिको अन्त्य गर्न सबैले सचेत बन्नुपर्ने सन्देश दिएका थिए। समाजमा विद्यमान कुरीति र खराब परम्परालाई हटाउँदै महिला तथा बालिकालाई समान अवसर र सम्मान दिनुपर्ने आवश्यकता नाटकमार्फत प्रस्तुत गरिएको शिक्षिका अवन्तिका गौतमले बताइन् ।
समुदायमा बढ्दो लैंगिक हिंसाविरुद्ध सचेतना फैलाउने तथा यस्ता हिंसाको अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिन सडक नाटक आयोजना गरिएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया