ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कर्मचारी खटाउँदा पदिय मर्यादा विपरीत व्यवस्था गरिएको भन्दै संयुक्त असहमति जनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, ओखलढुंगाले निर्वाचन प्रयोजनका लागि कर्मचारी खटाउने क्रममा पदिय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय, ओखलढुंगा मार्फत संयुक्त विज्ञप्ति सार्वजनिक गरिएको हो ।
विज्ञप्ति अनुसार उक्त विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भौतिक उपस्थितिमा छलफल भएको थियो । छलफलका क्रममा केही त्रुटि सच्याइने आश्वासन दिइए पनि कर्मचारीको पदिय मर्यादा संरक्षण हुनेगरी ठोस निर्णय नभएको उल्लेख गरिएको छ । त्यस पश्चात प्राप्त लिखित जवाफसमेत सन्तोषजनक नभएको भन्दै सम्बन्धित कर्मचारीहरूले असहमति जनाएका हुन् ।
विज्ञप्तिमा सूचीबद्ध कर्मचारीहरूले राज्यले दिएको जिम्मेवारी अनुसार निर्वाचनमा सहभागी भई आफ्नो दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तथापि, पदिय मर्यादामाथि गरिएको विभेद स्वीकार्य नहुने स्पष्ट पारिएको छ । साथै, निर्वाचनमा खटाउँदा उपलब्ध हुने कुनै पनि आर्थिक सुविधा नलिई निःशर्त रूपमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाइएको छ ।
संयुक्त विज्ञप्तिमा मोलुङ गाउँपालिका र सुनकोशी गाउँपालिकामा कार्यरत विभिन्न तहका कर्मचारी—लेखा अधिकृत, आन्तरिक लेखा परीक्षक, शिक्षा अधिकृत, सब–इन्जिनियर तथा सहायक पाँचौँ तहका कर्मचारी—समावेश छन् । उनीहरूले निष्पक्ष र मर्यादित ढंगले निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पदिय मर्यादा विपरीत गरिएको निर्णय पुनरावलोकन हुनुपर्ने माग प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंगराती समक्ष राखेका छन् ।


प्रतिक्रिया