ओखलढुंगामा सक्रिय सामाजिक संस्था ‘कयरे समाज सेवा गुठी’ले जिल्ला समन्वय समिति (जिसस) क्षेत्रबाट ओखलढुंगा सामुदायिक अस्पताल जाने मुख्य सडक खण्डमा सडक बत्ती जडान गरेको छ ।
गुठीले करिब १० हजार रुपैयाँभन्दा बढी लागतमा उक्त सडकखण्डका दुई महत्वपूर्ण स्थानमा बत्ती जडान गरेको जनाएको छ । अस्पताल जाने बाटो सुनसान जंगल क्षेत्र हुँदै जाने भएकाले रातिको समयमा पैदल यात्रु तथा सवारीसाधन आवत–जावतमा जोखिम हुने अवस्थालाई मध्यनजर गर्दै गुठीकै लगानीमा बत्ती राखिएको गुठीका अध्यक्ष शत्रुधन कटवालले जानकारी दिए ।
उनका अनुसार सडक बत्ती जडान भएपछि रातिको समयमा अस्पताल आवत–जावत गर्ने स्थानीय बासिन्दा, बिरामी, कुरुवा तथा सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ ।
सडकमा जडान गरिएको बत्तीको विद्युत् बिल गुठीले नै व्यहोर्ने र आवश्यक परेमा समय–समयमा मर्मतसम्भार समेत गर्ने उनले बताए ।
विशेषगरी आकस्मिक उपचारका लागि अस्पताल जाने बिरामी, उनीहरूका कुरुवा, विद्यार्थी तथा स्थानीय बासिन्दालाई राहत पुग्ने विश्वास गुठीले व्यक्त गरेको छ । स्थानीयस्तरमै पहल गरेर सार्वजनिक सुरक्षामा योगदान पुर्याएको भन्दै गुठीको कामप्रति स्थानीयले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

प्रतिक्रिया