कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीलाई माघ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरेका अनुसार विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल, साहस र व्यावसायिक दक्षतासहित पदीय जिम्मेवारी निर्वाह गरेको मूल्याङ्कनका आधारमा डीएसपी केसीलाई उक्त सम्मान प्रदान गरिएको हो ।
डीएसपी केसीले ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरे बोहोरेमा २०८२ साल माघ १३ गते ७४ वर्षीय चन्द्र विक्रम राई र ८० वर्षीया चन्द्रमाया राईको हत्या तथा लुटपाट प्रकरणको अनुसन्धानको नेतृत्व गरेका थिए । उक्त घटनामा कोदालो प्रहार गरी हत्या गरी सुनका गरगहना र नगद लुटपाट गरिएको थियो । अनुसन्धानका क्रममा संलग्न दुई जनालाई काठमाडौँ महानगरपालिका–१५ बाट लुटिएको सामानसहित माघ २३ गते पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको प्रहरीले जनाएको छ ।
यसैगरी, २०६७ साल असार २४ गते साविक भदौरे गाविस–२ मा ४३ वर्षीय छविलाल कार्कीको कर्तव्य गरी हत्या गरेर फरार रहेका प्रतिवादीलाई १५ वर्षपछि २०८२ साल माघ १७ गते पक्राउ गरिएको थियो । लामो समयदेखि फरार अभियुक्तलाई पक्राउ गर्न सफल हुनु अनुसन्धानको उल्लेखनीय उपलब्धि मानिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, २०८२ साल मंसिर २८ गते खिजिदेम्वा गाउँपालिका–९ मा एक महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका २७ वर्षीय प्रतिवादीलाई २०८२ साल माघ ४ गते पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको थियो ।
गम्भीर प्रकृतिका आपराधिक घटनाको अनुसन्धान, फरार अभियुक्त पक्राउ तथा जिल्लामा शान्ति–सुरक्षाको प्रत्याभूति गराउने कार्यमा देखाएको सक्रियता, नेतृत्व क्षमता र परिणाममुखी कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै डीएसपी केसीलाई माघ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार उत्कृष्ट कार्यसम्पादनमार्फत आम नागरिकमा सुरक्षा निकायप्रति विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया