ओखलढुंगा मोलुङ गाउँपालिका–६ बाट अवैध सुर्तिजन्य पदार्थसहित दुई जना पुरुष पक्राउ परेका छन् । माघ १८ गते मधेस प्रदेश ०३–००१ च ७३१४ नम्बरको डबल क्याब बोलेरो पिकअप गाडी प्रयोग गरी लुकिछिपी राजस्व छली गर्दै लामो समयदेखि अवैध रूपमा चुरोट ढुवानी तथा बिक्री गर्दै आएको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रहरीले “खुकुरी” लेखिएको नक्कली चुरोट ४१६ बट्टा सुर्तिजन्य पदार्थ बरामद गरेको छ । नक्कली चुरोट उत्पादन गरी लामो समयदेखि विभिन्न पहाडी जिल्लाहरूमा बिक्री वितरण गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–४ का २३ वर्षीय अनिल नेपाली र सर्लाही जिल्लाको हरिवन नगरपालिका–७ का २९ वर्षीय सुरेश प्याकुरेल रहेका छन् ।
पक्राउ परेका दुवै व्यक्ति तथा नियन्त्रणमा लिइएको गाडीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय लहान, सिराहा सिफारिस गरी पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया