निजिकरण भएको वन महिला समूहको पहलमा सामुदायिक बनाइयो


लामो समयसम्म निजीकरणको चपेटामा परेको ओखलढुंगाको रुम्जाटारस्थित सार्वजनिक वन महिला समूहको अथक पहलपछि पुनः समुदायको स्वामित्वमा फर्किएको छ ।

सिद्धिचरण नगरपालिका–४, रुम्जाटार काफलबोटस्थित महिला जागृति समूहले करिब १४ वर्षसम्म अदालतदेखि समुदायसम्म निरन्तर संघर्ष गर्दै फिर्ता ल्याएको उक्त वन हालै बसेको भेलाको निर्णयअनुसार सामुदायिक वनमा गाभिएको हो ।

रुम्जाटारको प्राकृतिक सुरक्षाकवचका रूपमा रहेको साविक रुम्जाटार गाविस–९ अन्तर्गतको करिब ११ हेक्टर सार्वजनिक वन वि.सं. २०४४ सालमा २० जनाको नाममा दर्ता भएपछि निजीकरणको संकटमा परेको थियो ।

यसविरुद्ध तत्काल सक्रिय रहेका काफलबोटे, पंचवती र भगवती सामुदायिक दीगो विकास महिला समूहले वि.सं. २०६० सालमा जिल्ला अदालत ओखलढुंगामा संयुक्त मुद्दा दर्ता गरेका थिए । अध्यक्ष पदम कुमारी गुरुङ, संगिता राई र छलकुमारी दाहालको नेतृत्वमा अघि बढाइएको उक्त मुद्दाले लामो कानुनी प्रक्रिया पार गर्दै सफलता पाएको डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुख मनराज राईले जानकारी दिए ।

मुद्दाबाट फिर्ता आएको ११ हेक्टर वन महिला जागृति सामुदायिक वनका रूपमा हस्तान्तरण गरिएको छ । हाल महिला समूहको सक्रियतामा निरन्तर वृक्षारोपण, संरक्षण र निगरानी गरिँदै वन क्षेत्र हरियालीले भरिँदै गएको छ ।

यस्तै, साविक रुम्जाटार गाविस–९ अन्तर्गत बाँकी रहेको करिब १ हेक्टर वन पनि अदालतका फैसलाबाट सार्वजनिक वनकै रूपमा कायम भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

महिला जागृति समूहकी अध्यक्ष पदम कुमारी गुरुङले भनिन्, “हामी कसैको निजी हक खोस्न चाहँदैनौँ। हाम्रो वरिपरिको सार्वजनिक वन वनकै रूपमा जोगियोस् भन्ने मात्रै हाम्रो चाहना हो । यो हाम्रो साझा सम्पदा हो ।”

स्थानीयले रुम्जाटारको परिधिमा फैलिएको उक्त वनलाई रुम्जाटारको सुरक्षाकवचका रूपमा लिने गरेका छन् । महिलाहरूको दृढता, एकता र कानुनी सचेतनाले सार्वजनिक सम्पदा जोगाउन सकिने उदाहरणका रूपमा यो संघर्ष समुदायका लागि प्रेरणाको स्रोत बनेको डिभिजन वन कार्यालयले जनाएको छ ।