डिजिटल प्रविधिबाट माटो परीक्षण

भिजन समाचार
20
Shares

ओखलढुंगामा पहिलोपटक डिजिटल प्रविधिको प्रयोग गरेर माटो परीक्षण गरिएको छ । माटोको प्रकारअनुसार खेती प्रवर्द्धन गर्न, उर्वराशक्ति बढाउन, माटोमा रहेका पोषक तत्त्वको अवस्था पहिचान गर्न तथा कृषकलाई वैज्ञानिक परामर्श दिन डिजिटल प्रविधिबाट माटो परीक्षण गरिएको हो ।

कृषि ज्ञान केन्द्र ओखलढुंगाको प्रांगणमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगाको आयोजनामा तथा माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का, सुनसरीको प्राविधिक सहयोगमा ‘स्वाइल म्याप अद्यावधिकरण कार्यक्रम’ अन्तर्गत माटो परीक्षण गरिएको हो ।

कार्यक्रम कार्यान्वयन एकाईका निमित्त वरिष्ठ कृषि अधिकृत हेम आले मगरका अनुसार एकाईअन्तर्गत आलु जोन सञ्चालन भएको सिद्धिचरण नगरपालिका वडा नं. ६ र ७ तथा सोलुखुम्बु जिल्लाका स्याउ र कफी बगैचाबाट संकलन गरिएका गरी जम्मा ५४ वटा माटोका नमुना परीक्षण गरिएको छ ।

माटोमा पाइने तत्त्व, गुण, अवस्था तथा प्राङ्गारिक पदार्थ (ओएम) को मात्रा कस्तो छ भन्नेबारे परीक्षण गरिएको र नतिजा केही दिनमा आएपछि त्यसैअनुसार कृषकलाई आवश्यक परामर्श प्रदान गरिने उनले जानकारी दिए ।

माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का, सुनसरीका सहायक माटो विज्ञ सन्तोष कट्टेलका अनुसार डिजिटल प्रविधिबाट नाइट्रोजन, फस्फोरस, पोटास, अर्गानिक म्याटर, पिएच र टेक्स्चर जस्ता तत्त्वको परीक्षण गर्दा माटोको समग्र अवस्था पहिचान गर्न सकिन्छ ।
यसका आधारमा कृषकलाई उपयुक्त सल्लाह–सुझाव दिई माटोको उर्वराशक्ति बढाएर उत्पादन वृद्धि गर्न सहयोग पुग्ने उनले बताए ।

यसअघि डिजिटल प्रविधिबाट माटो परीक्षण गर्न नमुना झुम्का पठाउनुपर्ने अवस्था रहेकामा यसपटक जिल्लामै भ्यानमार्फत पहिलोपटक सेवा उपलब्ध गराइएको कार्यक्रम कार्यान्वयन एकाईले जनाएको छ । माटो परीक्षणको अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने पनि जनाइएको छ ।