ओखलढुंगाको माथिल्लो भेगमा जाडो बढेसँगै तुसारो र सडकमा बरफ जम्न थालेपछि जनजीवन प्रभावित भएको छ । सिद्धिचरण नगरपालिका–६ को ठाडे, धापलगायतका क्षेत्रमा बिहान र साँझको समयमा सडक सतहमा तुसारो र आइस जम्दा सडक अत्यन्तै चिप्लो बनेको छ ।
जमेको तुसारो र आइसका कारण उकालो–ओरालो सडक, तीव्र मोड तथा छायाँ पर्ने स्थानमा सवारी दुर्घटनाको जोखिम उच्च बनेको छ । विशेषगरी मोटरसाइकल, जिपलगायत सवारी साधन चिप्लिएर लड्ने वा सडकबाट बाहिरिने समस्या देखिन थालेको सवारी चालक गोपाल मगरले भिजन समाचारलाई बताए ।
उनका अनुसार चिप्लो सडकका कारण सवारी साधन अनियन्त्रित भई दुर्घटनामा पर्ने सम्भावना बढेको छ। यस अवस्थालाई ध्यानमा राख्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख तथा प्रहरी वरिष्ठ नायव निरीक्षक लेखनाथ खनालले सवारी साधनको गति नियन्त्रण गर्न, बिहानको समयमा र जोखिमयुक्त स्थानमा विशेष सावधानी अपनाएर सवारी चलाउन आग्रह गरेका छन् ।
यस्तै, हिउँ, तुसारो तथा बरफ जमेर जोखिम रहेका स्थानमा सडक डिभिजन कार्यालय हर्कपुरले चेतनामूलक सूचना बोर्ड राख्ने काम भइरहेको पनि उनले जानकारी दिए ।
जाडो मौसममा माथिल्लो भेगका सडकहरूमा तुसारो र आइस जम्ने भएकाले सवारी चालक तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । चाेसाे र तुसाराेले स्थानियकाे दैनिकीमा समेत प्रभाव परेकाे छ ।

प्रतिक्रिया