जिल्ला अस्पतालको ओसीएमसीबाट सेवा लिने हिंसापीडितको सङ्ख्या घट्दै


जिल्ला अस्पताल रुम्जाटारमा सञ्चालित लैङ्गिक हिंसापीडितका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)बाट निःशुल्क स्वास्थ्य सेवा लिने हिंसापीडितको सङ्ख्या बर्सेनि घट्दै गएको छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कले सेवा लिनेको सङ्ख्या घट्दो क्रममा रहेको देखाएको छ ।

अस्पतालको तथ्याङ्क अनुसार पछिल्ला तीन वर्षमा एक हजार ६३ जना हिंसापीडितले ओसीएमसीमार्फत निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । आर्थिक वर्ष २०८०–०८१ मा ५१५ जना, आर्थिक वर्ष २०८१/०८२ मा ४२३ जना र चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर मसान्तसम्म १२५ जनाले सेवा लिएका छन् ।

ओसीएमसी फोकल पर्सन निकिता दाहालका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सेवा लिने ३३६ जनामध्ये ३३४ जना महिला र २ जना पुरुष थिए । तर आर्थिक वर्ष २०८१/०८२ र चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म महिलाले मात्र सेवा लिएका छन् । सेवा लिनेको उमेर समूह १९ देखि ४९ वर्षभित्र रहेको छ ।

केन्द्रमा आएका पीडितमध्ये मानसिक दुर्व्यवहारमा परेका पीडितको सङ्ख्या सबैभन्दा बढी रहेको तथ्याङ्कले देखाउँछ ।
आर्थिक वर्ष २०८०/०८१ मा मानसिक दुर्व्यवहारका १८८ जना, शारीरिक दुर्व्यवहारका ९८ जना, स्रोतसाधन, अवसर र सेवा वञ्चित २२ जना, बलात्कार १७ जना, यौनजन्य दुर्व्यवहार ७ जना तथा रुढीवादी परम्पराका आधारमा भेदभावमा परेका ४ जना थिए ।

यस्तै आर्थिक वर्ष २०८१/०८२ मा मानसिक दुर्व्यवहार १३० जना, शारीरिक दुर्व्यवहार ९३ जना, स्रोतसाधन, अवसर र सेवा वञ्चित १० जना, बलात्कार २१ जना र यौनजन्य दुर्व्यवहार ७ जना रहेका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर मसान्तसम्म मानसिक दुर्व्यवहार २३ जना, शारीरिक दुर्व्यवहार १६ जना, बलात्कार ६ जना, यौनजन्य दुर्व्यवहार ३ जना तथा स्रोतसाधन, अवसर र सेवा वञ्चित १ जना रहेको उल्लेख छ ।

केन्द्रमार्फत हिंसापीडितलाई मनोविमर्श सेवा, स्वास्थ्य तथा चिकित्सा सेवा, सुरक्षित आवास, कानुनी सहयोग, जीविकोपार्जन सेवा, निःशुल्क उपचार तथा पोषण सेवा उपलब्ध गराइँदै आएको छ । साथै पीडितका लागि कपडा, खाना तथा क्षमता विकासका लागि सिपमूलक तालिमसमेत प्रदान गरिने फोकल पर्सन दाहालले जानकारी दिइन् ।