ओखलढुंगामा १७ औँ आप्रवासन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

भिजन समाचार
52
Shares

ओखलढुंगामा १७ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सिद्धिचरण नगरपालिकाको सभा हलमा रोजगार सेवा केन्द्र सिद्धिचरण नगरपालिकाको आयोजनामा दिवस मनाउँदै अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रमको ब्यानर पढेर सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्षसमेत रहेका मेयर खनालसँगै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन केसी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज कुमार मगर, सिद्धिचरण नगरपालिकाका उप–मेयर केदारबाबु बस्नेत तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र बहादुर कटवालको सहभागिता रहेको थियो ।

कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत कृष्ण हुमागाईले प्रस्तुत गरेको पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कअनुसार वैदेशिक रोजगारीमा जाने, अंगभंग हुने तथा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको देखिएको छ ।

कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/०८१ मा सात लाख ४१ हजार २९७ जना युवाहरू वैदेशिक रोजगारीमा गएका थिए । यस्तै आर्थिक वर्ष २०८१/०८२ मा आठ लाख ३९ हजार २६६ जना र चालु आर्थिक वर्ष २०८२/०८३ को कात्तिक मसान्तसम्म दुई लाख ७३ हजार ८१० जना वैदेशिक रोजगारीमा गएका छन् ।

कार्यक्रम अधिकृत हुमागाईका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा वैदेशिक रोजगारीका क्रममा एक हजार ३४६ जनाले ज्यान गुमाएका थिए भने ६९० जनाको अंगभंग भएको थियो । यस्तै आर्थिक वर्ष २०८१/०८२ मा एक हजार ५९६ जनाले ज्यान गुमाउँदा ८३५ जनाको अंगभंग भएको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ६५२ जनाले ज्यान गुमाएका छन् भने १६५ जनाको अंगभंग भएको तथ्याङ्क प्रस्तुत गरिएको छ ।

कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत हुमागाईले वैदेशिक रोजगारीमा जानुअघि सही सूचना लिनु, श्रम स्वीकृति लिनु, सीपमूलक तालिम हासिल गर्नु, वैधानिक प्रक्रिया पूरा गर्नु र बीमा व्यवस्था अनिवार्य गर्नुपर्नेमा जोड दिए । साथै श्रमिकको हकहित संरक्षणका लागि स्थानीय तह, वैदेशिक रोजगार बोर्ड, कन्सुलर सेवा विभाग र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए ।

आप्रवासन दिवसको अवसरमा वैदेशिक रोजगारीमा गएर फर्किएका व्यक्तिहरूले आफ्ना अनुभवसमेत सुनाएका थिए । वैदेशिक रोजगारीमा जाँदा शिक्षा र सीप नहुँदा पहिलो पटक धेरै दुःख भोग्नुपरेको अनुभव ज्ञानमाया राई र गोपाल बस्नेतले सुनाएका थिए ।

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका उप–मेयर केदारबाबु बस्नेतले वैधानिक प्रक्रिया पूरा गरेर, सीप सिकेर र श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरे । सहभागीहरूले अन्तर्राष्ट्रिय आप्रवासन दिवसले सुरक्षित आप्रवासनको प्रवर्द्धन गर्दै जोखिम न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने सन्देश दिएको बताएका छन् ।