ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–२ पोखरेमा २१ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।
ओखलढुंगा सामुदायिक अस्पताल र समुदायमा आधारित समावेशी विकास परियोजना (सिबिआइडी)को आयोजनामा तथा चिशंखुगढी गाउँपालिकाको सहयोग र समन्वयमा आधारभूत अस्पताल पोखरेमा सोमबार अपाङ्गता पहिचान शिविर सञ्चालन गरिएको हो ।
शिविरमा गाउँपालिकाका विभिन्न वडाबाट सहभागी भएकामध्ये परीक्षणका आधारमा २१ जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । परिचयपत्र प्राप्त गर्नेहरूमा १० जना महिला र ११ जना पुरुष रहेका छन् ।
(सिबिआइडी) टोली संयोजक प्रेम जीसीका अनुसार परिचयपत्र पाउनेमध्ये एक जनाले रातो कार्ड, छ जनाले निलो कार्ड, नौ जनाले पहेँलो कार्ड र पाँच जनाले सेतो कार्ड प्राप्त गरेका छन् ।
शिविरको उद्घाटन चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माको प्रमुख आतिथ्यतामा गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका सबै वडाबाट विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रममार्फत समुदायस्तरमै प्रभावकारी काम भइरहेको सरोकारवालाहरूले बताएका छन् । यस्ता शिविरले अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, अधिकार सुनिश्चितता तथा सरकारी सेवा–सुविधामा पहुँच विस्तार गर्न महत्वपूर्ण सहयोग पुग्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया