ओखलढुंगामा साइबर अपराध बढ्दो

भिजन समाचार
412
Shares

ओखलढुंगामा साइबर अपराध बढ्दो क्रममा छ । चार महिनाको अवधिमा २१ वटा साइबर अपराधका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार कार्यालयमा चालु आर्थिक बर्षको चार महिनामा २१ वटा साइबर अपराधका उजुरी परेका हुन् ।

साइबार अपराधबाट पीडितले ठाडो उजुरीको रुपमा उजुरी दर्ता हुने गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
उनका अनुसार कार्यालयमा आएका निवेदन मध्ये अधिकांश फेसबुक एकाउन्ट ह्याक भएको, फेक एकाउन्टबाट ठगी, अनलाईन ठगी र अनलाईन गेमबाट ठगी लगायतका छन् ।

प्रहरीको तथ्याङ्क अनुसार साइबर अपराध घटनामा अधिकांश १८ देखि २५ वर्ष उमेर समूहका युवायुवती प्रभावित भएका छन् ।
युवाहरु सामाजिक सञ्जालमा धेरै सक्रिय हुने, अन्जान लिंक खोल्ने, एप र स्किमहरु जाँच नगरी प्रयोग गर्ने, कमजोर पासवर्ड राख्ने, छोटो समयमा पैसा कमाउन डिजिटल गेम खेल्ने जस्ता कारणले युवा वर्ग बढी फस्ने गरेको प्रहरी नायव उपरीक्षक केसीले बताए ।

गत आर्थिक वर्षमा ४३ वटा साइबर अपराध सम्बन्धीका उजुरी प्रहरीमा दर्ता भएका छन् भने अघिल्लो वर्ष २० वटा साइबर अपराधका उजुरी परेका थिए ।
साइबर अपराध तथा अनलाईन ठगी बाट बच्नका लागि फेसबुक लगायत सामाजिक सञ्जालमा व्यक्तिगत विवरण सार्वजनिक नगर्न, अन्जान लिंक नखोल्न, बलियो पासवर्ड राख्न र अनलाइन गेम वा स्किममा रकम नलगाउन जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आग्रह गरेको छ ।

दर्ता भएका उजुरी साइबर व्युरो पठाई अनुसन्धान गरिने प्रहरीले जनाएको छ । सदरमुकाम लगायत ईन्टरनेटका पहुँच भएका क्षेत्रका नागरिकबाट प्रहरीमा उजुरी निवेदन परेको प्रहरीको भनाई छ ।