ओखलढुंगामा घाँस काट्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

भिजन समाचार
432
Shares

रुखको घाँस झार्ने क्रममा करेन्ट लाग्दा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–२ नस्बु हिवाटोलका ५३ वर्षीय अम्मरबहादुर तामाङको मृत्यु भएको छ ।

मंगलबार दिउँसो दुधिलोको रुखमा चढेर घाँस काट्दै गर्दा रुख नजिकै रहेको केन्द्रिय लाइनको विद्युत् तार छोइएपछि तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तामाङको शव रुखमै अड्किएको अवस्थामा फेला परेपछि घटनास्थललाई सुरक्षित राखी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी नायब निरीक्षक दिपक कुमार सिंहको नेतृत्वमा प्रहरी टोली खटाइएको प्रनाउ केसीले बताए ।

प्रहरीले घटनाका सबै पक्षको मुचुल्का तयारी तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ ।