ओखलढुंगामा जेनजी आन्दोलनका शहीदको सम्झनामा शोकसभा र दिप प्रज्वलन

भिजन समाचार
4
Shares

जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा मंगलबार ओखलढुंगामा शोकसभा र दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।

जेनजी परिवर्तन समूह ओखलढुंगाको आयोजनामा भएको कार्यक्रममा जिल्लाका विभिन्न ठाउँबाट आएका जेन–जेड युवाहरूले शोक र्याली, दिप प्रज्वलन तथा शोकसभामा सहभागिता भएका हुन् ।

भाद्र २३ र २४ गते भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जाल खुलाउनुपर्ने मागसहित भएको आन्दोलनमा दिवंगत शहीदहरूको आत्माको शान्तिका लागि १३ दिनको पुण्यतिथिमा दिप प्रज्वलन गरिएको नभल–श परिवर्तन समूहका संयोजक भूपाल राईले जानकारी दिए ।

उनले परिवर्तनका लागि कलिला युवाहरूले बलिदान दिएको भन्दै उनीहरूको सपना साकार पार्न सरकार र सरोकारवाला निकायहरू जिम्मेवारी हुनुपर्ने उल्लेख गरे ।

यस्तै कार्यक्रम संयोजक सागर जुङ्गले सुशासन र भ्रष्टाचारको अन्त्य, विकास र समावेशी समाज निर्माण जेन–जेड मात्रको माग नभई सम्पूर्ण नेपालीहरूको चाहना भएकाले सबै एकजुट भई परिवर्तनको लागि आवाज उठाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा जेन–जेड आन्दोलनका प्रत्यक्षदर्शी मिलन राई, युवा सपना मगर लगायतले कविता र भनाईमार्फत शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।