जेन-जी आन्दाेलन समर्थन: मोलुङका मदन केसीले सेवा–सुविधा सिंहदरबार पुननिर्माणमा दिने घोषणा गरे

भिजन समाचार
380
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिकामा कार्यरत एमआइएस अपरेटर मदन केसीले आफ्नो तलब बाहेकका सम्पूर्ण सेवा सुविधा जलेको सिंहदरबार पुनर्निर्माणमा सहयोग गर्ने घोषणा गरेका छन् । जेनजीकाे आन्दाेलनलाई समर्थन गर्दै केसीले आफुले पाउने सेवा सुविधा सिंहदरबार पुननिर्माणमा सहयाेग गर्ने घाेषणा गरेका हुन् ।

भ्रष्टाचार अन्त्य र सुशासनको मागसहित अघि बढेको जेन–जी आन्दोलनमा सरकारले दमन गर्दा ठूलो जनधनको क्षति भएको भन्दै उनले यस्तो निर्णय लिएका हुन् । मङ्गलबार गाउँपालिकामा निवेदन दिँदै केसीले आफू कार्यरत रहँदासम्म पाउने सवारी, सञ्चार, भ्रमण भत्ता लगायतका सुविधा सिंहदरबार पुनर्निर्माणमा खर्च गर्ने जनाएका छन् ।

उनका अनुसार पालिकाले उपलब्ध गराउने सरकारी मोटरसाइकल एक थान, प्रतिमहिना १५ लिटर पेट्रोलका लागि पाइने वार्षिक २८ हजार ९८०, वार्षिक सवारी मर्मत खर्च २० हजार, भ्रमण भत्ता ९६ हजार र सञ्चार खर्च १२ हजारसहित कुल एक लाख ५६ हजार ९८० रुपैयाँ सहयोग गर्नेछन् ।

आन्दोलनमा दमनकारी भूमिका खेलेको भन्दै तत्कालीन सरकारको नेतृत्वमा रहेको नेकपा (एमाले) परित्याग गरेको घोषणा समेत गरेका छन् । उनी एमाले समर्थक थिए । केसीले देश बनाउने उद्देश्यले आहुति दिएका युवाहरूको योगदानलाई सम्मान गर्ने बेला आएको बताए ।

“देशले ठूलो क्षति व्यहोरेको छ, अब सबै कर्मचारी र सरोकारवालाले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ,” उनले भने । केसीले सामाजिक संजाल मार्फत व्यक्तीगत धारणा सार्वजनिक गरेका छन् ।