ओखलढुंगामा सरकारी सवारीको दुरुपयोग, १२ वटालाई कारबाही

भिजन समाचार
560
Shares

ओखलढुंगामा सरकारी सवारीको दुरुपयोग बढ्दो क्रममा रहेको छ । सरकारी सवारीको दुरुपयोग बढ्न थाले पछि ट्राफिक प्रहरीले अनुगमनमा कडाइ गर्न थालेको छ ।

सार्वजनिक बिदाको दिन बिना पास सरकारी तथा अन्य सवारी सञ्चालन गर्ने प्रवृत्तिमाथि ट्राफिक प्रहरीले कडाइ थालेको हो । यस क्रममा हालसम्म १२ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका अनुसार कारबाहीमा परेकामध्ये अधिकांश सरकारी कार्यालय र स्थानीय तहका सवारी छन् । बिना पास चलाइएका सवारीलाई नियन्त्रणमा लिएर पास लिएपछि मात्र फिर्ता गर्ने गरिएको सहायक हवल्दार नारायण बस्नेतले जानकारी दिए ।

ट्राफिक प्रहरीले सरकारी सवारीको दुरुपयोग रोक्न, नियमको पालना सुनिश्चित गर्न, सडक दुर्घटना कम गर्न र ट्राफिक व्यवस्थापन सुधार गर्न नियमित निगरानी गरिरहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले अत्यावश्यक काम बाहेक सार्वजनिक बिदाको दिनमा पास लिएर मात्र सवारी सञ्चालन गर्न आग्रह गरेको छ ।