ओखलढुंगामा डेंगीको बढ्दो जोखिमः एक महिनामै १३ संक्रमित

भिजन समाचार
54
Shares

वर्षायाम सुरु भएलगत्तै ओखलढुंगामा डेंगी संक्रमण तीव्र रुपमा देखिन थालेको छ । साउन महिनामात्रै १३ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ओखलढुंगा सामुदायिक अस्पतालमा गरिएको परीक्षणमा ९ पुरुष र ४ महिलामा संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार हालसम्मको तथ्यांक आंशिक मात्र हो, किनकि सबै स्वास्थ्य संस्थाबाट विस्तृत विवरण संकलन भइरहेको छ ।

लगातारको वर्षाले घर–आँगन, नाली, ट्यांकी, टायर, फूलदानजस्ता स्थानमा पानी जम्ने क्रम बढेको छ । यिनै स्थान डेंगी फैलाउने ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ प्रजातिका लामखुट्टेको प्रजननस्थल हुन् ।

स्वास्थ्यकर्मीका अनुसार डेंगीको लक्षण सुरु हुने अवस्थामा उच्च ज्वरो आउने शरीरमा पीडा महसुस हुने तथा बेस्सरी टाउको दुख्ने जस्तो लक्षण देखिन्छन् । डेंगीको लक्षण देखिएमा वा शंका लागेमा नजिकैको स्वास्थ्य संस्थामा गएर आवश्यक औषधि उपचार गर्न स्वास्थ्य कार्यालय रुम्जाटारले अनुरोध गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले जनचेतनामूलक कार्यक्रम र लार्भा नष्ट गर्ने अभियान सुरु गरे पनि ग्रामीण क्षेत्रमा पर्याप्त जनशक्ति, औजार र नियमित अनुगमनको अभाव रहेको स्थानीय बासिन्दाको गुनासो छ । लामाे बाहुला भएकाे लुगा लगाउने, मच्छरदानी प्रयोग गर्ने, पानी जम्ने स्थान हटाउने जस्ता सरल उपाय अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् ।