८ महिनादेखि अहेव विहीन ओखलढुंगा कारागार

भिजन समाचार
66
Shares

जिल्ला कारागार ओखलढुंगामा आठ महिना बितिसक्दा पनि अहेव (सहायक स्वास्थ्यकर्मी) को दरबन्दी पूर्ति हुन सकेको छैन । २०८१ माघमा कार्यरत अहेवको अन्यत्र सरुवा भएपछि अहिलेसम्म पद रिक्त रहँदा कैदीबन्दी र कर्मचारीको स्वास्थ्य उपचारमा गम्भीर समस्या आएको छ ।

निमित्त जेलर लेखनाथ दाहालका अनुसार पटक–पटक सरोकारवाला निकायसँग पदपूर्तिका लागि माग गर्दा पनि अहिलेसम्म अहेव खटाइएको छैन । “कैदीबन्दी बिरामी हुँदा स्वास्थ्य परीक्षण गर्न, नियमित औषधि सेवन गराउन वा आकस्मिक अवस्थामा तत्काल अस्पताल पु¥याउनुपर्ने बाध्यता छ,” दाहालले भने ।

कारागारमा हाल १६ जना दिर्घरोगी कैदीबन्दी छन् । उनीहरूको बेलाबेलामा स्वास्थ्य परीक्षण गर्न, औषधि सेवनको परामर्श दिन र आकस्मिक स्वास्थ्य समस्या आउँदा रात–साँझ नभनी अस्पताल पुर्याउनुपर्ने दाहालको भनाइ छ ।

कारागारमा ३० जनाको क्षमता भए पनि अहिले सात महिला र ७० पुरुष गरी ७७ जना कैदीबन्दी रहेका छन् । दाहालले पछिल्लो पटक पुनः ताकेता गरिएको बताएका छन् । तत्काल स्वास्थ्यकर्मीको व्यवस्था नभए कैदीबन्दीको स्वास्थ्य जोखिम बढ्ने देखिन्छ ।