असोजदेखि घोराखोरीमा इलाका प्रशासन कार्यालय सञ्चालन हुने

भिजन समाचार
112
Shares

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–६, घोराखोरीमा आगामी असोज १ गतेदेखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने भएको छ । नयाँ कार्यालय स्थापनासँगै चम्पादेवी र लिखु गाउँपालिकाका हजारौं बासिन्दाले अब नागरिकता लगायतका प्रशासनिक सेवा घर पाएकमै पाउने भएका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै देशभर २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको हो । यसअन्तर्गत ओखलढुंगाको घोराखोरी पनि परेको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।

संघीय सांसद रामहरी खतिवडा, गाउँपालिका र जिल्ला प्रशासनको पहलमा स्थापना हुने यो कार्यालयका लागि नौं रोपनी जग्गा व्यवस्था भईसकेको छ । गाउँपालिका अध्यक्ष नवराज केसीका अनुसार, नागरिकताको लागि यस क्षेत्रका नागरिक सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ ।

गृह मन्त्रालयका अनुसार, भौगोलिक दुर्गमता, जनसंख्या र सेवामा पहुँचमा देखिएको असमानता कम गर्न यो कदम चालिएको हो । जिल्लाको यो दोश्रो इलाका प्रशासन हो । यस अघि खिजीदेम्बा गाउँपालिकाको खिजीफलाटेमा इलाका प्रशासन कार्यलय सञ्चालनमा छ ।

यहाँ बाट खिजीदेम्बा र लिखु गाउँपालिकाका चार वटा वडाका नागरिकले सेवा लिएका छन् । लिखु गाउँपालिकाको बाँकी रहेका वडाका नागरिकले घोराखोरी बाट सेवा लिन सहज हुनेछ ।