लाखौँको पम्प कृषि ज्ञान केन्द्रमै थन्कियो, किसानसम्म पुगेन

भिजन समाचार
52
Shares

ओखलढुंगाको कृषि ज्ञान केन्द्रमा करिब छ वर्षअघि खरिद गरिएको ‘इन्धन बिना चल्ने वाटर पम्प’ आजसम्म प्रयोगमा आएको छैन । पाँच लाख रुपैयाँ भन्दा बढी खर्चेर खरिद गरिएको ‘स्पाइरल’ पम्प किसानसम्म नपुगेको हो ।

कृषकलाई आधुनिक सिँचाइ प्रविधिमा आकर्षित गर्ने उद्देश्यले खरिद गरिएको पम्प कार्यालय परिसरमै वर्षौंदेखि थन्किएको छ । कार्यालयका निमित्त प्रमुख टिका बानियाका अनुसार पम्प खरिदको उद्देश्य प्रदर्शनमार्फत किसानलाई सिकाउने र अनुदानमा उपलब्ध गराउने थियो । तर, कार्यालय बाट न पर्याप्त प्रचार–प्रसार भयो, न किसानसम्म प्रत्यक्ष रूपमा प्रविधि पु¥याउने पहल भयो ।

“वडाको सिफारिससहित समूह बनाएर माग गरे किसानलाई पम्प दिने व्यवस्था थियो, तर माग आएन,” बानियाले भने ।

ओखलढुंगामा सुख्खा मौसममा सिँचाइको समस्या पुरानो हो । यस्तो अवस्थामा बिजुली वा इन्धन बिना चल्ने पम्प किसानका लागि सस्तो र दिगो विकल्प बन्न सक्थ्यो । पम्प अहिले पनि चालु अवस्थामा रहेको र किसानको माग आए तुरुन्तै दिन सकिने बानियाले बताएका छन् ।

तर, सार्वजनिक बजेट खर्च गरेर खरिद गरिएको प्रविधि वर्षौंसम्म उपयोगमा नआउँदा कार्यालयको कार्यशैली र जवाफदेहितामा प्रश्न उठेको छ ।