ओखलढुंगाको जिल्ला अस्पताल रुम्जाटारमा पहिलो पटक विशेषज्ञ डाक्टर आएका छन् । अस्पतालमा जनरल प्राक्टिस (एम्डिजिपि) विशेषज्ञ डा. सञ्जय पोखरेल आएका हुन् । अब अस्पतालमा शल्यक्रिया लगायतका सेवा सुरु हुने भएको छ ।
अस्पताल प्रमुख डा. रवि कुमार यादवका अनुसार अपरेसन थिएटर (ओटी) सेवा अन्तर्गत सिएस प्रस्तुति शल्यक्रिया, हाइड्रोसिल, हर्निया, एपेन्डिसाइटिसको अपरेसन तथा माइनर सर्जिकल ओपीडी सेवा सञ्चालन गर्ने योजना छ । आवश्यक पूर्वाधार, औषधि र उपकरणको तयारी भइरहेकोले करिब तीन हप्ता भित्र नियमित सेवाप्रवाह हुने यादवले जानकारी दिए ।
अस्पताल व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख प्रमुख टेकराज भट्टराई, स्वास्थ्य कार्यालय ओखलढुंगाकी प्रमुख मनिसा तामाङ लगायतले डा. पोखरेललाई स्वागत गरेका थिए । कार्यक्रममा जिसस प्रमुख भट्टराईले जिल्ला अस्पतालको सेवालाई नागरिकमैत्री र सर्वसुलभ बनाइने बताएका छन् ।
यसअघि विशेषज्ञ डाक्टर नहुँदा जटिल रोगका बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता थियो । सरकारी अस्पतालमा जनशक्तिको अभावका कारण आलोचना हुने गरेको थियो ।

प्रतिक्रिया