ओखलढुंगा । नेवार समुदायको विशेष पर्व गाइजात्राको अवसरमा सिद्धिचरण नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । हालै सम्पन्न नगर कार्यपालिकाको बैठकले साउन २५ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगर प्रमुख तेजेन्द्र खनालका अनुसार, नगरपालिकामा नेवार समुदायको उल्लेख्य बसोबास रहेको र गाइजात्रा उनीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । “यस वर्ष साउन २५ गते गाइजात्रा परेकोले नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक संघ–संस्थाहरूमा बिदा लागू हुनेछ,” मेयर खनालले बताए ।
गाइजात्रा पर्वमा नेवार समुदायले एक वर्षभित्र दिवंगत भएका आफन्तहरूको सम्झनामा जात्रा निकाल्ने परम्परा रहेको छ । हिलेजात्रा अन्तर्गत मनाइने लाखे जात्रासँगै गाइजात्रा पनि ओखलढुंगा सदरमुकाम लगायत जिल्लाका विभिन्न स्थानमा धुमधामका साथ मनाइँदै आएको छ ।

प्रतिक्रिया