ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–५ खिजीफलाटेमा रहेको मालपोत कार्यालयबाट अब लिखु गाउँपालिकाका चार वडाका नागरिकले सिधै सेवा लिन सक्ने भएका छन् । आर्थिक वर्ष २०८२/८३ को साउन १ गतेदेखि लिखुका चार वडाका नागरिकले खिजीफलाटेबाट मालपोत सेवा लिन थालेका हुन् ।
लिखुको वडा नं. ६ खाल्टे, ७ गाम्नाङटार, ८ टारकेराबारी र ९ पोकलीका नागरिकले मालपोत सेवा खिजीफलाटे बाट सिधै सेवा पाउने भएका छन् । यसअघि उनीहरूले ओखलढुंगा सदरमुकाम आएर मात्र मालपोत सेवा लिनुपर्ने बाध्यता थियो ।
मालपोत कार्यालय खिजीफलाटेका प्रमुख लालबहादुर सुनुवारका अनुसार सेवा सुरुवातसँगै स्थानीयको समय र खर्चको बचत भएको छ । “स्थानीयलाई सहज सेवा दिन हामीले साउन १ गतेदेखि सेवा विस्तार गरेका हौँ,“ उनले भने ।
लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीले जनताको माग र पालिकाको पहलबाट सेवा सुलभ बनेको बताए । “विगत दुई वर्षदेखि हामीले पहल गर्दै आएका थियौं । अहिले आएर योजना कार्यान्वयनमा आएको छ,” उनले भने, “नजिकैको पालिकाबाट सेवा पाउँदा जनतामा उत्साह देखिएको छ ।” पालिकाका अन्य वडाका नागरिकलाई पनि खिजीफलाटे बाट सेवा प्राप्त गर्न छलफल र तयारी भइरहेको अध्यक्ष कार्कीको भनाइ छ ।
वडा नम्बर ९ का अध्यक्ष केशवहरी ढुंगेलका अनुसार पहिले नागरिकताका लागि मात्र खिजीफलाटेको इलाका प्रशासनबाट सेवा पाउँदै आएका वडाबासी अब मालपोतका लागि सदरमुकाम जानु नपर्ने भएपछि खुसी भएका छन् । “खर्च र समय दुवैको बचत भएको छ, स्थानीय निकै हर्षित छन्,” वडाअध्यक्ष ढुंगेलले भने ।
लिखुका यी वडाका नागरिकलाई खिजीफलटे पुग्ने दुई देखी तीन घण्टा लाग्छ भने सदरमुकाम पुग्न एक दिन लाग्छ । सोझै सडक र यातायात सेवा सहज नभएकाले रामेछाप, सिन्धुली, उदयपुर हुदै ओखलढुंगा सदरमुकाम जानुपर्ने बाध्यता थियो । चार वडा बाहेकका अन्य वडाका बासिन्दाले अहिले अझै पनि नागरिकता र मालपोत सेवाका लागि जिल्ला सदरमुकमनै पुग्नुपर्ने बाध्यता छ ।
यस अघि खिजीफलाटेमा रहेकाे इलाका प्रशासन र मालपाेत कार्यालयले खिजीदेम्बा गाउँपालिकाका बासिन्दालाई मात्र सेवा प्रवाह गरिरहेकाे थियाे ।

प्रतिक्रिया