पोखरेका तामाङ समुदायको निर्णय : घेवा कार्यमा मदिरा निषेध

भिजन समाचार
432
Shares

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५, पोखरेमा तामाङ समुदायले परम्परागत मृत्यु संस्कार ‘घेवा’ कार्यमा मदिरा निषेध गर्ने निर्णय गरेका छन् । सामुदायिक भेलाले सामाजिक विकृति रोक्न र आर्थिक भार घटाउन घेवा कार्यमा मदिरा पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको हो ।

समाजसेवी सिंह बहादुर तामाङका अनुसार पछिल्लो समय घेवा कार्यक्रममा अत्यधिक मदिरा सेवनका कारण झैँ–झगडा, पाहुनाप्रति अपमानजन्य व्यवहार, फजुल खर्च र शोकमा परेको परिवारलाई थप पीडा हुने जस्ता समस्या देखिएकोले सामूहिक रूपमा यो निर्णय गरिएको हो ।

हामी परम्परा जोगाउन चाहन्छौं, तर त्यसभित्र रहेका विकृतिलाई सच्याउँदै जाने सामुहिक निचोडमा पुगिएको शिक्षक समेत रहेका तामाङको भनाई छ । मदिरा निषेधको निर्णयले आर्थिक भार कम गर्न, सद्भाव कायम गर्न र संस्कारलाई मर्यादित बनाउने उद्देश्य लिइएको तामाङले बताए ।

यस्तो निर्णयले समुदायमा खर्च व्यवस्थापन, ऋणभार न्यूनीकरण र सामाजिक अनुशासन कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । समुदायले यो निर्णयलाई परम्परागत संस्कारभित्रका नकारात्मक अभ्यासलाई सच्याउँदै सभ्य समाज निर्माणतर्फको एक कदमका रूपमा लिएको छ ।

यस निर्णयलाई विशेषगरी महिलाहरू र युवापुस्ताले स्वागत गरेका छन् । स्थानीयले परम्परालाई आधुनिक दृष्टिकोण सहित परिमार्जन गर्न सकिन्छ भन्ने उदाहरण यहाँका स्थानियले दिएका छन् ।

चम्पादेवी गाउँपालिका–५ का वडा सदस्य भिम बहादुर तामाङ र शिक्षक सिंह बहादुर तामाङले उक्त अभियानको अगवाई गरेका छन् ।

तामाङ समुदायमा ‘घेवा’ मृतकको चिरशान्तिका लागि गरिने विशेष धार्मिक र सामाजिक क्रियाकलाप हो, जसमा सामूहिक भोज तथा पूजाआजा आयोजना गरिन्छ । पछिल्लो समय यस संस्कारमा अनावश्यक खर्च र अनुशासनहीनता बढ्दै गएको भन्दै सुधारका आवाज उठ्दै आएका थिए ।