ओखलढुंगाको सुनकोशी गाउँपालिकाले ‘खसी भन्दा महंगो मसला’ खर्चका विषयमा प्रष्टिकरण दिएको छ । भिजनसहितका विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको समाचारका विषयमा पालिकाले विज्ञप्ति मार्फत आफ्नो प्रष्टिकरण दिएको हो ।
मलेपको प्रतिवेदनका आधारमा प्रकाशित ४९ हजारको खसीमा ५८ हजार १०५ को मसला प्रयोग भएको समाचारलाई भ्रामक भनेको सुनकोशीले फेरि उक्त मूल्यकै मसला खरिद गरेको स्विकार्दै खर्च विवरण सार्वजनिक गरेको छ ।
मलेपको प्रतिवेदन अनुसार सुनकोशीले दोर्जे नाम्गेल होटललाई साबुन, तेल, मसला, जिरा र प्याज खरिद बापत ५८ हजार १०५ भुक्तानी गरेको छ । उक्त खर्चलाई पालिकाको विज्ञप्तिले पनि अनुमोदन गरेको छ ।
होटलबाट गाउँपालिकाले मसलाजन्य सामाग्री खरिद गरेको विषयमा आलोचना भईरहेका बेला पालिकाले होटलबाटै नुन, खुर्सानी, प्याज, टमाटर, टेष्टिमसलादेखि फलफुल, पानी, प्लेट, गिलास, साबुन, स्टिलझुसलगायतका सामान किनेको र होटलमै ग्याँस भरेको समेत २२ थरीकाे सामान खरिदकाे विवरण सार्वजनिक गरेको छ ।
पालिकाको विज्ञप्तिमा होटलबाट सामान खरिद भएको उल्लेख खुलाइएको छैन । तर उक्त रकम भुक्तानी होटलका नाममा निकासा भएको मलेपको प्रतिवेदनले पुष्टि गरेको छ ।

जिन्सी शाखाले विज्ञप्ति मार्फत सार्वजनिक गरेको मसलाजन्य सामानको मूल्यसूची बजारमूल्य भन्दा फरक छ । तेललगायतका कतिपय सामानको मूल्य बजारमूल्य भन्दा निकै कम र कतिपय सामानको मूल्य बढी देखाइएको छ ।
खानेतेल लिटरको मूल्य प्रतिलिटर १२० देखाएको सुनकोशीले चिउरा र चिनि पनि किलोको १२० नै देखाएको छ । ११ हजार २५० को चिसोपियपदार्थ, ६ हजारको चियापत्ती किनेको हिसाब देखाएको पालिकाले ७३ किलो चिनि ८ हजार ७६० मा खरिद गरेको प्रष्टिकरण दिएको छ ।
हेर्नुहाेस् पालिकाकाे प्रष्टिकरण


ग्याँस भरेको र चिनि, चियापत्ती किनेको खर्च विवरण समेत दोर्जे नाम्गेल होटलमा भएको भुक्तानी ५८ हजार १०५ भित्रै देखाएको सुनकोशीले मलेपको प्रतिवेदन अनुसार ग्याँस भरेको, चिनि, चियापत्ती, बदाम र काजु खरिदमा एलिना एलिसा किराना पसललाई १ लाख १७ हजार ८५४ रकम भुक्तानी गरेको छ ।

एलिना एलिसा किराना पसलमा भएको भुक्तानीको खर्च विवरण भने पालिकाले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया