मोलुङ शिविरमा तीन हजारले पाए राष्ट्रिय परिचयपत्रको सेवा

भिजन समाचार
84
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिकामा एक महिना सम्म सञ्चालन गरिएको राष्ट्रिय परिचयपत्र दर्ता शिविरबाट तीन हजार ९०२ जनाले सेवा लिएका छन् ।
गाउँपालिकाको आयोजनामा गत असार पहिलो साता देखी सञ्चालन गरिएको शिविरमा २ हजार ५२५ जनाले आफ्नो पुरानो परिचयपत्रको आधारमा विवरण जाँच गराएका छन्, भने १ हजार ३७७ जनाले नयाँ राष्ट्रिय परिचयपत्रको फारम दर्ता गराएका हुन् ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गा आचार्यका अनुसार शिविर विशेषतः सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही, अशक्त, ज्येष्ठ नागरिक लगायत लक्षित समूहलाई केन्द्रमा राखेर सञ्चालन गरिएको थियो ।
गाउँपालिका अध्यक्ष उत्तम राईका अनुसार सेवा सर्वसाधारण सम्म सजिलै पुगोस् भन्ने उद्देश्यले शिविर वडा–वडामा विस्तार गरी सञ्चालन गरिएको हो ।
शिविरको समापन विशेष कार्यक्रम आयोजना गरी गरिएको थियो । समापन कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट खटिएका कम्प्युटर अपरेटरहरूलाई कदरपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।