स्थानीय कृषि उपज प्रवर्द्धन गर्न नारायणस्थानमा कृषि मेला प्रदर्शनी

भिजन समाचार
6
Shares

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि ओखलढुंगाको नारायणस्थानमा कृषि मेला प्रदर्शनी गरिएको छ । सहयोगी हातहरुको समूह (सहास) नेपाल र सिद्धिचरण नगरपालिका–३ को संयुक्त आयोजनामा शुक्रबार नारायणस्थानमा कृषि प्रर्दशनी मेला सञ्चालन भएको हो ।

मेलामा कृषि समूह तथा कृषकले आफुले उत्पादन गरेका कृषि उपजहरु तरकारी बाली, फलफूल, रैथाने बाली, खाद्यान्न बाली, मौरी पालन, नगदे बाली र जरे बाली लगायतका छ विधाको प्रदर्शन गरेका थिए ।

मेलामा ७१ जना कृषक सहभागी भएकोमा छ विधाका २४ कृषकलाई पुरस्कृत गरिएको छ ।

कृषि उपजको मुल्यांकनका आधारमा प्रत्येक विधाका चार–चार जना कृषकलाई क्रमश नगद तिन हजार, दुई हजार २५०, एक हजार पाँच सय र एक हजार १२५ रुपैयाँको साथमा प्रमाण–पत्र प्रदान गरिएको सहास नेपालको लिफ्ट परियोजना अधिकृत अनिल सोडारीले जानकारी दिए । स्थानीय कृषिबालीको प्रवद्र्धनका लागि मेलाको आयोजना गरिएको उनको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि सिद्धिचरण नगरपालिका नगर प्रमुख तेजेन्द्र खनालले स्थानीय उत्पादनलाई प्रवद्र्धन, प्रविधियुक्त कृषिमा प्रोत्साहन गर्र्दै र कृषिमा नयाँ पुस्ताको आकर्षण बढाउँदै कृषि मार्फत बलियो अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए ।

नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राख्ने उनको प्रतिवद्धता छ ।

यस्तै स्थानीय कृषकले उत्पादन गरेका तरकारी, फलफूल, अन्नबाली, जडीबुटी तथा अन्य कृषि उपजलाई सार्वजनिकरूपमा प्रदर्शन गराउँदा राम्रो बाली उत्पादन गर्ने कृषकलाई प्रोत्साहन हुने र बजारीकरणमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको सिद्धिचरण नगरपालिका ३ का वडा अध्यक्ष सिताराम दाहालले बताए ।

यस किसिमका कार्यक्रमले युवा पुस्तालाई कृषिमा आकर्षित गराउन पनि सहयोग मिल्ने उनको दाबी रहेको छ ।