विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

भिजन समाचार
48
Shares

काठमाडौं । नेपाल सरकार अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी कार्यालय तथा स्थानीय तहमा विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ ।

मन्त्रालयको प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाबाट जारी परिपत्र अनुसार, कर्मचारीहरूको दैनिक उपस्थितिलाई व्यवस्थित र पारदर्शी बनाउन विद्युतीय हाजिरी प्रणाली लागू गर्न भनिएको हो ।

परिपत्रमा उल्लेख भएअनुसार, यदि कुनै कार्यालयमा हालसम्म विद्युतीय हाजिरी प्रणाली लागू नभएको भए तत्काल सो व्यवस्था मिलाउनुपर्नेछ । साथै, कर्मचारीहरूको दैनिक उपस्थितिको विवरण (आएको–गएको समय) अनिवार्य रूपमा अभिलेखीकरण गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, हाजिरी विवरण प्रत्येक १५ दिनमा प्रिन्ट गरी प्रमाणित गरेर कार्यालयमा सुरक्षित राख्न पनि निर्देशन दिइएको छ । यो निर्णय मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार गरिएको जनाइएको छ । सरकारको यो कदमले कर्मचारी अनुशासन, पारदर्शिता र सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।