काठमाडौंबाट रामेछाप भएर ओखलढुंगा आउँदै गरेको बस धुलिखेलमा दुर्घटना, २४ जना घाइते

भिजन समाचार
208
Shares

काठमाडौंबाट रामेछाप भएर ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका– १० सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा २४ जना घाइते भएका छन् ।

बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको बस आज बिहान ०८ ः २० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेमा बस चालक र सह–चालकसहित २४ जना रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए ।

घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । चालक र सह–चालकको टाउकोमा गम्भीर चोट छ । घाइतेहरुको पहिचान भएको छैन ।

बस घटनास्थलमै रहेकोले राजमार्गमा एकतर्फी मात्रै सञ्चालन भएको छ ।

बस रामेछापको धोबी, ढाँडे हुँदै ओखलढुंगाको पोकली लागि गुडेको प्रहरीले जनाएको छ ।