प्रकृतिसँगको सम्बन्ध खोज्दै आदिवासी जनजाति युवाको अध्ययन यात्रा


काठमाडाैं । आदिवासी जनजाति समुदायको संस्कार, संस्कृति, परम्परा र प्रकृतिसँगको अन्तरसम्बन्धलाई नजिकबाट बुझ्न देशका विभिन्न क्षेत्रबाट आएका करिब एक सय युवा ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका विभिन्न स्थानमा पुगे । आदिवासी जनजाति युवा महासंघ नेपालको आयोजनामा भएको अध्ययन तथा अवलोकन कार्यक्रममा सहभागी युवाले आदिवासी ज्ञान, संस्कार र प्रकृतिमाथिको निर्भरतालाई व्यवहारमै बुझ्ने अवसर पाए ।

कोन्ज्योसोम गाउँपालिका–५ भारदेउका स्थानीयले युवाहरूलाई तामाङ संस्कार अनुसार परम्परागत रूपमा स्वागत गरे । त्यसपछि तामाङ अगुवामार्फत प्रकृतिका देवीदेवता तथा सिमेभूमेसँग बरदान माग्दै यात्राको सफलताको कामना गरिएको थियो । सिमेभूमेको पूजा किन र कसरी गरिन्छ भन्ने विषयमा स्थानीय अगुवाले जानकारी दिनुका साथै पूजाको विधिसमेत प्रदर्शन गरे ।

अध्ययन यात्राका क्रममा माझी समुदायको महत्वपूर्ण परम्परा ‘लदी’ चाडअन्तर्गत कोशी पूजा पनि गरिएको थियो । माझी समुदायले नदी र प्रकृतिलाई आफ्नो जीवनसँग जोडेर हेर्ने भएकाले कोशी पूजाको विशेष महत्व रहेको माझी अगुवा सिन्धुलीका गोपीबहादुर माझीले बताए ।

उनका अनुसार पूर्वी नेपालका माझी समुदायले विशेषगरी सप्तकोशी अन्तर्गतका सात नदीको पूजा गर्ने परम्परा छ । कोशी तर्दा आवश्यक पर्ने ढुंगा तथा माछा मार्न प्रयोग गरिने सामग्रीको समेत पूजा गर्ने चलन छ । नदी आसपास बसोबास गर्ने माझी समुदायको जीविकोपार्जन नदीसँग प्रत्यक्ष जोडिएकाले दुःख, बिरामी र दुर्घटना नहोस् भन्ने कामनासहित कोशी पूजा गरिने उनले बताए ।

परम्परागत संस्कार र प्रकृतिसँगको सम्बन्धलाई प्रत्यक्ष अवलोकन गरेपछि युवाहरू ललितपुरकै चर्चित धार्मिक तथा सांस्कृतिक स्थल कोन्ज्योसोम डाँडा अर्थात् त्रिमूर्ति डाँडातर्फ लागे । त्यहाँ वन, जल, जमिन र आदिवासी जनजाति समुदायबीचको अन्तरसम्बन्धबारे छलफल तथा अन्तर्क्रिया गरिएको थियो ।

आदिवासी जनजाति युवा महासंघका अध्यक्ष किरण श्रेष्ठका अनुसार कार्यक्रम केवल सांस्कृतिक अवलोकनमा सीमित थिएन । सम्मेलनमा आदिवासी जनजाति र युवासँग सम्बन्धित समसामयिक विषयमा छलफल, अनुभव आदानप्रदान र अन्तरक्रिया गरिएको थियो ।

“प्रकृतिमा पाइने हावा, पानी, वनस्पति, जीवजन्तु र आदिवासी जनजातिबीचको सम्बन्धलाई नयाँ पुस्ताले बुझ्न आवश्यक छ,” महासंघका उपमहासचिव सुवास तामाङले भने । उनका अनुसार आदिवासी समुदायमा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका ज्ञान, कला, सीप, संस्कार र जीवनपद्धतिलाई युवापुस्तामाझ पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट सहभागी आदिवासी जनजातिसँग सम्बन्धित संघ–संस्थाका प्रतिनिधिले आदिवासी जनजातिको अधिकार, क्षेत्रीय तथा विकासात्मक चुनौती, आत्मनिर्णयको अधिकार र आदिवासी आन्दोलनमा युवाको भूमिकालगायतका विषयमा समेत छलफल गरे ।

आधुनिक विकासको बहससँगै प्रकृति संरक्षण र परम्परागत ज्ञानको महत्वसमेत बढ्दै गएको अवस्थामा युवालाई आफ्नो मौलिक संस्कार र समुदायको जीवनपद्धतिसँग जोड्ने प्रयासका रूपमा अध्ययन यात्रा अर्थपूर्ण देखिएको छ । संस्कारलाई केवल परम्पराका रूपमा नभई प्रकृतिसँग सहअस्तित्व कायम गर्ने ज्ञानका रूपमा बुझ्न पाउँदा सहभागी युवाहरू उत्साहित बने ।

यस यात्राले नयाँ पुस्तालाई आफ्नो समुदायको इतिहास, संस्कृति र ज्ञानसँग जोड्नुका साथै प्रकृतिसँगको आदिवासी सम्बन्धलाई नजिकबाट बुझ्ने अवसर दिएको सहभागीहरूको भनाइ थियो । आधुनिक पुस्तामा हराउँदै गएका मौलिक ज्ञान र परम्पराको संरक्षण तथा पुस्तान्तरणका लागि यस्ता अध्ययन तथा अनुभवमूलक कार्यक्रम प्रभावकारी बन्न सक्ने देखिन्छ ।