ओखलढुंगा र सोलुमा जोन कार्यक्रमले कृषि क्षेत्र विस्तार


ओखलढुंगा । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कृषि जोन सञ्चालन भएपछि ओखलढुंगा र सोलुखुम्बुमा खेतीयोग्य क्षेत्र विस्तारसँगै व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढेको छ ।

कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा मार्फत सञ्चालन गरिएका विभिन्न कृषि जोन कार्यक्रमले उन्नत बीउबिजन, आधुनिक कृषि उपकरण, सिँचाइ पूर्वाधार, कृषि सामग्री, प्राविधिक सेवा, तालिम तथा अनुदानमा किसानको पहुँच बढाएपछि परम्परागत खेती प्रणाली क्रमशः व्यावसायिकता तर्फ रूपान्तरण हुँदै गएको हो ।

कार्यक्रम अन्तर्गत ओखलढुंगामा आलु र बाख्रा जोन सञ्चालनमा छन् भने सोलुखुम्बुमा सुन्तला, किवी, स्याउ, ओखर तथा अदुवा–बेसार जोन सञ्चालन भइरहेका छन् । जोन कार्यक्रमसँगै जिल्लामा खेतीको क्षेत्रफल विस्तार हुनुका साथै उत्पादन र उत्पादकत्वमा समेत वृद्धि भएको छ ।

एकाईका निमित्त वरिष्ठ कृषि अधिकृत हेमबहादुर आले मगरका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ओखलढुंगामा ७९१ हेक्टरमा सीमित आलु खेती अहिले आर्थिक वर्ष २०८३/०८४ सम्म आइपुग्दा एक हजार ९१८ हेक्टर पुगेको छ । यो अवधिमा आलु खेतीको क्षेत्रफल ५८.८ प्रतिशतले विस्तार भएको हो ।

त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ को आधार वर्षमा जिल्लामा तीन हजार ७५६ वटा बाख्रा रहेकोमा बाख्रा जोन कार्यक्रम सञ्चालनपछि अहिले १५ हजार ४५१ वटा पुगेका छन् । कार्यालयका अनुसार यस अवधिमा बाख्रा पालनको क्षेत्र ७५.७ प्रतिशतले विस्तार भएको छ ।

क्षेत्रफल विस्तारसँगै कृषि उत्पादनको बजारसमेत बढेको कार्यालयको तथ्यांक छ । हाल ओखलढुंगाबाट वार्षिक करिब दुई करोड रुपैयाँ बराबरको आलु तथा ५० लाख रुपैयाँ बराबरका खसीबाख्रा बाहिरी जिल्लामा बिक्री तथा निर्यात हुने गरेको छ ।

सोलुखुम्बुमा पनि कृषि जोन कार्यक्रमले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा ७५ हेक्टरबाट सुरु भएको किवी जोन अहिले १६८.४ हेक्टर पुगेको छ । त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा ९ हेक्टरबाट सुरु गरिएको स्याउ जोन १५ हेक्टर पुगेको छ ।

ओखर खेती भने २ हेक्टरबाट सुरु भएर अहिले १९.६ हेक्टर पुगेको छ । यो क्षेत्रफलका हिसाबले ८७.५ प्रतिशत विस्तार हो ।

सोलुखुम्बुको सुन्तला जोन आर्थिक वर्ष २०७३/०७४ मा ८३ हेक्टरबाट सुरु भएकोमा अहिले ४७५.७ हेक्टर पुगेको छ । यसमा ८२.६ प्रतिशत क्षेत्र विस्तार भएको कार्यालयले जनाएको छ ।

यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा ९८ हेक्टरबाट सुरु भएको अदुवा–बेसार जोन अहिले २७१ हेक्टर पुगेको छ । यो अवधिमा अदुवा–बेसार खेतीको क्षेत्रफल ६३.८ प्रतिशतले वृद्धि भएको हो ।

कार्यक्रम कार्यान्वयन एकाईले चक्लाबन्दी खेती, आधुनिक प्रविधिको प्रयोग, सिँचाइ तथा कृषि पूर्वाधार निर्माण, कृषि यान्त्रिकीकरण र बजारमुखी उत्पादनलाई प्राथमिकता दिँदै आएको छ । यसबाट किसानको उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन र कृषि उपजलाई बजारसँग जोड्न सहयोग पुगेको कार्यालयको भनाइ छ ।

कृषि आधुनिकीकरण कार्यक्रमले खेतीको क्षेत्र विस्तारसँगै किसानको आम्दानी र व्यावसायिक कृषि प्रणाली विकासमा समेत सकारात्मक प्रभाव पारेको निमित्त वरिष्ठ कृषि अधिकृत मगरले बताए ।

ओखलढुंगा र सोलुखुम्बुमा कृषि उत्पादनको सम्भावना उच्च रहेकाले आगामी दिनमा पनि व्यावसायिक कृषि विस्तार, यान्त्रिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि र किसानको आयआर्जन बढाउने लक्ष्यसहित जोन कार्यक्रमलाई थप प्रभावकारी बनाउने कार्यालयले जनाएको छ ।