खिजीदेम्बाको एकीकृत सेवा शिविर काठमाडौंमा

भिजन समाचार
0
Shares

काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गर्दै तीनदिने एकीकृत सेवा शिविर सुरु गरेको छ । गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा लिन ओखलढुंगा पुग्नुपर्ने बाध्यता हटाउँदै राजधानीमै सेवा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा शिविर सञ्चालन गरिएको हो ।

शिविरको पहिलो दिन नै सेवाग्राहीको उल्लेख्य घुइँचो लागेको छ । विभिन्न पेशा–व्यवसाय, अध्ययन तथा उपचारका क्रममा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका खिजीदेम्बाका नागरिकले एकै स्थानबाट गाउँपालिकाका विभिन्न सेवा लिन पाएपछि सहज भएको बताएका छन् ।

शिविरमा व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता, राजस्व संकलन, राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण रुजु, बैंकिङ सेवाका साथै महिला विकास शाखामार्फत अपाङ्गता परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्र, एकल महिला परिचयपत्र तथा अन्य सामाजिक सुरक्षा सम्बन्धी कार्ड वितरण भइरहेको छ ।

यस्तै, गाउँपालिकाबाट प्रदान गरिने विभिन्न सिफारिस तथा अन्य आवश्यक सेवासमेत शिविरबाट उपलब्ध गराइएको छ । एउटै ठाउँमा धेरै सेवा उपलब्ध भएपछि सेवाग्राहीलाई छुट्टाछुट्टै कार्यालय धाउनुपर्ने झन्झटबाट राहत मिलेको छ ।

तर, पहिलो दिन सेवा लिन आएका केही सेवाग्राहीले इन्टरनेट र सर्भरमा समय–समयमा देखिएको समस्याका कारण सेवा लिन ढिलाइ भएको गुनासो गरेका छन् । प्रविधिमा आधारित सेवा लिन लामो समय कुर्नुपर्दा सेवाग्राहीलाई केही सास्ती भएको हो ।

गाउँपालिकाले भने प्राविधिक समस्याका बाबजुद सकेसम्म छिटो र सहज रूपमा सेवा प्रवाह गर्ने प्रयास भइरहेको जनाएको छ ।

यसपटक खिजीदेम्बाले शिविरको उद्घाटन कार्यक्रमलाई समेत फरक शैलीमा सञ्चालन गरेको छ । परम्परागत सरकारी कार्यक्रमजस्तो जनप्रतिनिधि र अतिथिले बोल्ने तथा नागरिकले सुन्ने शैली परिवर्तन गर्दै पालिकाले नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गरेको हो ।

उद्घाटन समारोहसँगै सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा गाउँपालिकाले प्रवाह गरेका सेवा, विकास निर्माण, योजना तथा कार्यक्रमबारे नागरिकलाई जानकारी गराइएको थियो भने नागरिकका प्रश्न, गुनासा, सुझाव र अपेक्षासमेत संकलन गरिएको छ । सहभागीहरुले उठाएका जिज्ञासाकाे अध्यक्ष गम्बु शेर्पा, उपाध्यक्ष सुसिला तामाङ लगायत नाै वटै वडाका अध्यक्षहरुले जवाफ दिएर समाधान गरेका थिए ।

गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले प्रमुख अतिथिका रूपमा शिविरको उद्घाटन गरेका थिए ।

कार्यक्रममा राजधानीमा बसोबास गर्ने खिजीदेम्बाका नागरिकले पालिकाको सेवा प्रवाह, विकास निर्माण तथा गाउँपालिकाको समग्र विकास र रूपान्तरणसँग सम्बन्धित विभिन्न प्रश्न उठाएका थिए । नागरिकका प्रश्नको गाउँपालिका अध्यक्ष गम्बु शेर्पा, उपाध्यक्ष शुसिला तामाङसहितका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृत नविना गिरीलगायत कर्मचारीले जवाफ दिएका थिए ।

औपचारिक उद्घाटन तथा अन्तरक्रियात्मक कार्यक्रम पहिलो दिनमै सकिए पनि सेवा शिविर भने पर्सिसम्म सञ्चालन हुनेछ । शिविर अवधिभर सेवा प्रवाहसँगै गाउँपालिकाको योजना, विकास निर्माण, सेवा प्रवाह र आगामी कार्यक्रमबारे नागरिकका गुनासा, सुझाव तथा अपेक्षा संकलन गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रवक्ता पासाङ निमा शेर्पाका अनुसार राजधानीमा रहेका नागरिकलाई स्थानीय तहका सेवा सहज रूपमा उपलब्ध गराउनुका साथै जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद गराउने उद्देश्यले एकीकृत सेवा शिविरलाई अभियानकै रूपमा सञ्चालन गर्ने गरिएको छ ।

खिजीदेम्बाका हजारौं नागरिक विभिन्न कारणले काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका छन् । गाउँपालिकाले राजधानीमै सेवा शिविर सञ्चालन गरेपछि उनीहरूलाई सामान्य प्रशासनिक कामका लागि समेत गाउँ फर्किनुपर्ने बाध्यता अन्त्य भएको छ ।