ओखलढुंगा । घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाले आर्थिक वर्ष २०८२/८३ मा उद्योग तथा वाणिज्य सम्बन्धी सेवा प्रवाहमार्फत १६ लाखभन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले उद्योग दर्ता, नवीकरण, लगत कट्टा, नामसारी, प्रतिलिपी, उद्देश्य थप, ठाउँसारी लगायतका प्रशासनिक सेवा उपलब्ध गराउँदै कुल १६ लाख ५४ हजार २०० रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।
कार्यालयकी सूचना अधिकारी रविना राईका अनुसार गत आर्थिक वर्षमा उद्योग र वाणिज्य क्षेत्रका सेवाग्राहीलाई नियमित सेवा प्रदान गर्दै राजश्व संकलन गरिएको हो ।
कार्यालयको तथ्यांक अनुसार उद्योगतर्फ वर्षभर ५४ वटा नयाँ उद्योग दर्ता भएका छन् भने १६२ वटा उद्योगको नवीकरण गरिएको छ । यस अवधिमा २३ वटा उद्योगको लगत कट्टा, १४ वटा प्रतिलिपी वितरण, ९ वटा नामसारी, ७ वटा उद्देश्य थप तथा २ वटा ठाउँसारी गरिएको छ । उद्योगहरूको वास्तविक अवस्था र सञ्चालनको अनुगमन गर्न ५६ वटा उद्योगको निरीक्षण समेत गरिएको कार्यालयले जनाएको छ ।
यस्तै, वाणिज्यतर्फ २९ वटा नयाँ व्यवसाय दर्ता भएका छन् भने १३७ वटा व्यवसायको नवीकरण गरिएको छ । साथै १८ वटा लगत कट्टा, ५ वटा प्रतिलिपी वितरण, ३/३ वटा नामसारी, उद्देश्य थप र ठाउँसारी सम्बन्धी सेवा प्रदान गरिएको छ । उपभोक्ता हित संरक्षण र बजार व्यवस्थापनका लागि १० वटा बजार अनुगमन पनि गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार उद्योग तथा व्यवसायलाई औपचारिक प्रणालीमा आबद्ध गराउने, उद्यमी तथा व्यवसायीलाई सहज प्रशासनिक सेवा उपलब्ध गराउने र नियमनलाई प्रभावकारी बनाउने लक्ष्य अनुसार सेवा प्रवाहलाई निरन्तरता दिइएको छ ।
गत आर्थिक वर्षमा उद्योग दर्ता, नवीकरण, निरीक्षण तथा बजार अनुगमनका गतिविधिले जिल्लामा उद्यमशीलता प्रवद्र्धन, व्यवसायको अभिलेखीकरण र राजश्व संकलनमा सकारात्मक योगदान पुगेको कार्यालयको भनाइ छ ।

प्रतिक्रिया