ओखलढुंगा । जिल्लाको सुनकोशी गाउँपालिका–१, बलखु आम्बोट । गाउँको भुमेथान पाखोमा कमेरो माटोले पोतिएको एउटा पुरानो घर छ । खर र सालिमको छानो वर्षौंदेखि फेरिएको छैन । वर्षायाम लागेपछि छानो चुहिन्छ, भित्ताको कमेरो खुइलिएको छ, कतै पर्खाल चर्किएको छ भने कतै भत्किन थालेको छ ।
घर जति जीर्ण बन्दै गएको छ, त्यसभन्दा धेरै थकित बनेको छ त्यही घरभित्र बस्ने एक आमाको मन । ७६ वर्षीया पदमसरी राईको जीवन अहिले एउटै आशामा अडिएको छ—एक दिन हराएका छोरा कमल घर फर्किनेछन् ।
२०५८ सालको हिउँदमा २२ वर्षीय कमल कुमार राई आफन्तसँग रोजगारीको खोजीमा भारतको कोइलाखाँद (कोइलाखानी) गएका थिए । उनीसँगै गएकाहरू सबै गाउँ फर्किए, तर कमल अहिले सम्म फर्केनन् । सुरुमा सँगै गएकाहरूले कोइलाखाँद पुगेपछि कमल छुट्टिएको मात्र बताए । त्यसपछि उनको कुनै अत्तोपत्तो लागेन । न चिठी आयो, न फोन, न कसैले देखेको खबर सुनायो । त्यसयता पदमसरीको जीवन प्रतीक्षामै बितिरहेको छ ।
“उता जाने जसलाई पनि मेरो कमललाई खोजेर ल्याइदेऊ भन्छु,” उनी भक्कानिँदै भन्छिन्, “तर कसैले भेटेँ भन्दैन ।”
उमेरसँगै उनका आँखा, कान कमजोर भएका छन् । शरीरले पनि पहिलेजस्तो साथ दिँदैन । तर घरअगाडिको ओरालो बाटोतिर आँखा लगाएर छोराको प्रतीक्षा गर्ने बानी भने अझै छुटेको छैन ।
“मेरो कमल मरेको सुनेकी छैन,” उनी आशा नमारेको स्वरमा भन्छिन्, “छोरा हो, एक न एक दिन टुप्लुक्क आइपुग्छ जस्तो लाग्छ । उसलाई एकपटक मात्रै देख्न पाएँ भने म पनि ढुक्कसँग आँखा चिम्लिन सक्छु होला ।”
छोराको प्रतीक्षा सकिन नपाउँदै अर्को पीडाले उनको जीवन झन् सुनसान बनायो । तीन वर्षअघि उनका श्रीमान् धमबहादुर राई पनि अचानक घर छाडेर हिँडे । त्यसयता उनी पनि बेपत्ता छन् ।
“छोराको बाटो हेर्दाहेर्दै उसको बाउ पनि कता गए, गए,” उनी निराश स्वरमा सुनाउँछिन् ।

अहिले त्यो घरमा पदमसरी एक्लै बस्छिन् । कहिलेकाहीँ पीडा असह्य हुँदा उनी एक्लै रुँदै, कराउँदै मन हलुका पार्ने गर्छिन् । आँसु पुछ्ने कोही छैन, सम्झाउने कोही छैन ।
जीवन धान्न उनले केही बाख्रा, सुँगुर, कुखुरा र एउटा कुकुर पालेकी छिन् । तिनै पशुपन्छी अहिले उनका दैनिकीका सहारा बनेका छन् । तर उमेर ढल्कँदै जाँदा तिनको हेरचाह गर्नसमेत उनलाई कठिन हुँदै गएको छ ।
वर्षायाममा चुहिने छानो, चर्किएका भित्ताहरू र भत्किन थालेको घरले कुनै पनि बेला ठूलो जोखिम निम्त्याउन सक्छ । आर्थिक अभावले होइन, उनलाई घर मर्मत गर्ने मनै छैन ।
गाउँलेहरू बेला–बेला उनलाई भेट्न आउँछन् । कसैले सान्त्वना दिन्छन्, कसैले सहयोगको आश्वासन । तर पदमसरीका लागि संसारकै सबैभन्दा ठूलो सहयोग भनेको हराएको छोरा सकुशल घर फर्किनु हो ।
२५ वर्ष बितिसक्दा पनि उनको आशा मरेको छैन । समयले धेरै कुरा बदल्यो । गाउँको अवस्था बदलियो, पुस्ता फेरियो । तर एउटी आमाको प्रतीक्षा भने अझै उस्तै छ । प्रत्येक बिहान उनी घरअगाडिको बाटोतिर आँखा लगाउँछिन् । सायद छोरा आउनेछन् भन्ने आशा बोकेर । त्यो आशा नै उनको जीवनको अन्तिम सहारा बनेको छ ।

प्रतिक्रिया