सुनकोशीको सामाजिक सुरक्षा शिविरबाट ४०५ जनाले लिए सेवा

भिजन समाचार
10
Shares

काठमाडौं । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले राजधानी काठमाडौंमा सञ्चालन गरेको सामाजिक सुरक्षा परिचयपत्र दर्ता तथा नवीकरण शिविरबाट ४०५ जना सेवाग्राही लाभान्वित भएका छन् ।

राजधानी तथा आसपासका क्षेत्रमा बसोबास गर्ने गाउँपालिकाका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य लाभग्राहीलाई गाउँसम्म पुग्नुपर्ने झन्झट र खर्चबाट राहत दिने उद्देश्यले काठमाडौंको सुकेधारास्थित दुर्गा पार्टी प्यालेसमा साउन ९ र १० गते शिविर सञ्चालन गरिएको हो ।

शिविरमा सामाजिक सुरक्षा परिचयपत्र नवीकरण, व्यक्तिगत घटना दर्ता तथा राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी सेवा एकै स्थानबाट उपलब्ध गराइएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईका अनुसार सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा मात्रै २८९ जनाले लिएका छन् । यस अन्तर्गत अन्य ज्येष्ठ नागरिक १६३, दलित ज्येष्ठ नागरिक ५, ६० वर्षमाथिका एकल महिला २५, विधवा ४४, ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति २९, ‘ख’ वर्गका अति अशक्त अपाङ्गता भएका व्यक्ति १९ तथा दलित बालबालिका ४ जना रहेका छन् । अन्य जिल्ला तथा गाउँपालिकाका १७ लाभग्राहीले पनि भत्ता नवीकरण सेवा लिएका छन् ।

यस्तै, शिविरबाट ४८ जनाले व्यक्तिगत घटना दर्ता सेवा लिएका छन् भने ५१ जनाले जिल्ला प्रशासन कार्यालयबाट प्राप्त राष्ट्रिय परिचयपत्र वितरण सेवा पाएका छन्। सबै सेवा गरी शिविरबाट कुल ४०५ जनाले प्रत्यक्ष लाभ लिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत राईले राजधानीमा बसोबास गर्ने अधिकांश ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई गाउँसम्म पुगेर परिचयपत्र दर्ता तथा नवीकरण गर्न कठिन हुने भएकाले सेवा नागरिकको पहुँचमै पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए । लामो दूरीको यात्रा लक्षित वर्गका नागरिकका लागि कष्टकर र खर्चिलो हुने भएकाले काठमाडौंमा शिविर सञ्चालन गरि सेवा प्रदान गरिएको राईले जानकारी दिए ।

शिविरमा गाउँपालिकाका अधिकांश वडाध्यक्ष, जनप्रतिनिधि, वडासचिव तथा विभिन्न शाखाका कर्मचारीहरूको सक्रिय सहभागितामा सेवा प्रवाह गरिएको थियो । सेवा लिन आएका लाभग्राहीहरूले काठमाडौंमै सहज रूपमा सेवा प्राप्त गर्न पाएको भन्दै गाउँपालिकाको पहलको प्रशंसा गरेका छन् ।