साना सिंचाई कार्यक्रमद्वारा ओखलढुंगामा २४३ वटा कुलो निर्माण


ओखलढुंगा साना सिंचाई कार्यक्रम (एसआइपी) अन्तर्गत ओखलढुंगामा छ वर्षको अवधिमा २४३ वटा सिंचाई कुलो निर्माण सम्पन्न भएका छन् । निर्माण गरिएका कुलोमार्फत जिल्लाका दुई हजार ३२३ हेक्टर खेतीयोग्य जमिनमा बाह्रै महिना सिंचाई सुविधा पुगेको छ भने नौ हजार ४१७ घरधुरी कृषक प्रत्यक्ष लाभान्वित भएका छन् ।

नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच २०७७ असार १२ गते भएको द्विपक्षीय सम्झौता अनुसार कोशी प्रदेशका आठ जिल्लाका ५९ स्थानीय तहमा विपन्न वर्गको कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यसहित सञ्चालन गरिएको साना सिंचाई कार्यक्रमको दोस्रो चरण २०८३ असार ३२ गते सम्पन्न भएको छ ।

परियोजनाका जिल्ला संयोजक कृष्ण तामाङका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ सम्म जिल्लाका आठवटै स्थानीय तहमा सिंचाई पूर्वाधार विस्तार गरिएको हो । १० प्रतिशत जनश्रमदान सहित कुल ७६ करोड ६७ लाख ५५ हजार रुपैयाँ खर्च भएको कार्यक्रममा करिब दुई लाख १५ हजार श्रमदिन सिर्जना भएको र स्थानीय समुदायले ज्यालाबापत २० करोड १६ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

सिद्धिचरण नगरपालिका–१० बेतिनीका कृषकले सिंचाई सुविधा विस्तारपछि वर्षमा तीन बाली उत्पादन गर्न थालेका छन् । पहिले आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहे पनि अहिले धान, गहुँ–फापर, मकैसँगै तरकारी तथा फलफूल खेतीबाट समेत राम्रो आम्दानी लिन थालेको स्थानीय कृषक भिमप्रसाद धमलाले बताए ।

यस्तै सिद्धिचरण नगरपालिका–७ बिगुटार सुर्केमा पनि सिंचाई सुविधा विस्तारपछि वर्षभरि विभिन्न बाली उत्पादन हुन थालेको छ । पहिले कोदोबाहेक अन्य बाली उत्पादन गर्न कठिन हुने क्षेत्रमा अहिले धान, तरकारी लगायतका व्यावसायिक खेती विस्तार भएको छ ।

सुर्के साना सिंचाई जल उपभोक्ता समितिकी अध्यक्ष रहरमाया राईले परियोजनाले स्थानीय कृषकको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनका अनुसार सिंचाई सुविधा पुगेपछि कृषकको कृषि उत्पादन र आयआर्जन उल्लेखनीय रूपमा बढेको छ ।

परियोजना कार्यान्वयनका लागि स्वीस सरकार, संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा उपभोक्ताको साझेदारीमा कुल ७६ करोड ४८ लाख ९० हजार ४७८ रुपैयाँ लगानी गरिएको थियो ।

जिल्ला संयोजक तामाङले निर्माण भएका संरचनाको दीर्घकालीन संरक्षणका लागि जल उपभोक्ता संस्थाले मर्मत–सम्भार कोष स्थापना गरे पनि नियमित कोष संकलन र संस्थागत विकासमा अझै चुनौती रहेको बताए । स्थानीय सरकारले कृषि उत्पादन, बजारीकरण र सिंचाई संरचनाको संरक्षणलाई प्राथमिकता दिए स्थानीय आर्थिक समृद्धिमा थप योगदान पुग्ने उनको भनाइ छ ।

सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालले परियोजनाबाट निर्माण भएका सिंचाई कुलोले कृषकलाई प्रत्यक्ष लाभ पुर्‍याएको, कृषि उत्पादन र आयआर्जन बढाउन महत्वपूर्ण योगदान दिएको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम भित्र्याउन पहल गर्ने तथा निर्माण भएका संरचनाको संरक्षण र आवश्यक मर्मत–सम्भारमा नगरपालिका प्रतिबद्ध रहने उल्लेख गरे ।

परियोजना अन्तर्गत सिद्धिचरण नगरपालिकामा ४०, सुनकोशीमा ४७, मानेभञ्ज्याङमा २६, मोलुङमा २४, चम्पादेवीमा ३७, लिखुमा ३१, खिजीदेम्बामा १३ र चिशंखुगढीमा २५ वटा गरी जिल्लाभर २४३ वटा सिंचाई कुलो निर्माण भएका छन् ।