होटल म्यानेजमेन्ट प्रति विद्यार्थीको आकर्षण बढ्दो

भिजन समाचार
0
Shares

ओखलढुंगा । व्यवहारिक तथा व्यावसायिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । जिल्लामै होटल म्यानेजमेन्ट विषय अध्ययन गर्ने अवसर उपलब्ध भएपछि यसप्रति विद्यार्थीको रुचि बढेको हो ।

जिल्ला सदरमुकामस्थित लालीगुँरास इङ्लिस स्कुलसँगको सहकार्यमा सञ्चालित ग्यालेक्सी स्कुल अफ होटल म्यानेजमेन्टले दोस्रो वर्ष पनि उत्साहजनक विद्यार्थी भर्ना गरेको छ । चालु शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका ५८ विद्यार्थीमध्ये अधिकांशले होटल म्यानेजमेन्ट विषय रोजेको विद्यालयका प्रिन्सिपल सूर्यबहादुर श्रेष्ठले जानकारी दिए ।

नयाँ शैक्षिक सत्रको अवसरमा आइतबार आयोजित स्वागत कार्यक्रममा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको छ । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराई, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनकुमार श्रेष्ठलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वक्ताहरूले वर्तमान शिक्षा व्यवहारिक, व्यावसायिक र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । सीपमूलक शिक्षाले विद्यार्थीलाई आत्मनिर्भर बनाउनुका साथै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्ने उनीहरूको भनाइ थियो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति पनि दिएका थिए ।

विद्यालयका प्रिन्सिपल श्रेष्ठले होटल म्यानेजमेन्ट विश्वव्यापी रोजगारीको उच्च सम्भावना बोकेको क्षेत्र भएकाले विद्यार्थीले व्यवहारिक सिकाइलाई प्राथमिकता दिनुपर्ने बताए ।

ग्यालेक्सी स्कुल अफ होटल म्यानेजमेन्टका म्यानेजिङ डाइरेक्टर भिजनबाबु काफ्ले र जिल्लास्थित स्कुलका सिइओ कुमार दाहालले ओखलढुंगासहित देश–विदेशमा पर्यटन उद्योग विस्तार भइरहेकाले होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीका लागि भविष्य उज्ज्वल रहेको बताए ।

सरोकारवालाहरूले जिल्लामै होटल म्यानेजमेन्ट अध्ययनको सुविधा उपलब्ध हुनु विद्यार्थीका लागि महत्वपूर्ण अवसर भएको बताएका छन् । राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त ग्यालेक्सी स्कुल अफ होटल म्यानेजमेन्टले सैद्धान्तिक अध्ययनसँगै व्यवहारिक तालिमलाई प्राथमिकता दिँदै आएको छ ।

यहाँ अध्ययनरत विद्यार्थीले खाना पकाउने, रुम म्यानेजमेन्ट, ग्राहक सेवा तथा होटल उद्योगसँग सम्बन्धित विभिन्न विषयमा प्रत्यक्ष अभ्यासमार्फत सीप र अनुभव हासिल गर्दै आएका छन् ।